मलेसियामा सम्पूर्ण कामदारहरुको न्यूनतम तलब १५ सय रिंगेट पुर्‍याउने, श्रमिकहरु खुशि

रामेछाप खबर संवाददाता

काठमाडौं ।

मलेसियामा सम्पूर्ण निजि क्षेत्रमा काम गर्ने कर्मचारीहरुको न्यूनतम तलब यहि मे महिना देखि १५ सय रिंगेट पुग्ने भएको छ । मलेसियामा न्युनतम तलब बढेसँगै यहा कार्यरत नेपाली श्रमिकहरुलाई पनि फाइदा पुग्ने भएको छ ।

आज एक संबोधनका बिच मलेसियन प्रधानमन्त्री दातुकश्री इस्माइल सब्रि याकुबले नीजि क्षेत्रका सम्पूर्ण कामदारहरुको तलब यहि मे महिना देखि १५ सय रिंगेट पुर्‍याउने जानकारी दिएसँगै श्रमिकहरुमाझ खुसि छाएको छ । २०२० सन्मा मलेसियामा नीजि क्षेत्रका कामदारहरुको न्यूनतम तलब १२ सय रिंगेट पुर्‍याइएकामा श्रमिकहरुको हकहितमा काम गर्ने संस्थाहरुले भने न्यूनतम तलब १५ सय रिंगेट पुर्‍याउनु पर्ने माग गर्दै आएका थिए ।

मलेसियामा झन्डै तीन लाख नेपाली कार्यरत रहेका छन् र अधिकांशले पहिले देखि नै १५ सय रिंगेट भन्दा बढि तलब पाईरहेपनि केहि नेपालीहरु भने न्यूनतम तलब १२ सय रिंगेटकै भरमा काम गरिरहेकामा अब देखि भने १५ सय रिंगेट पाउने कुराले खुशि भएका छन् । हिमाल टाईम्स बाट

यो पनि..मलेसियाको रोजगारी फेरि खुल्दै
कोभिडका कारण दुई वर्षदेखि बन्द रहेको मलेसिया रोजगारी फेरि सुरु हुने भएको छ । मन्त्रीस्तरीय निर्णयअनुसार मलेसिया रोजगारी पुनः सुरु गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मलेसियन सरकारले नेपाली कामदारलाई दिएको रोजगारी गुम्न नदिन श्रममन्त्री कृष्णकुमार श्रेष्ठले पुनः मलेसिया रोजगारी सुरु गर्ने निर्णय गरेको बताएको छ । वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकूल नहुने गरी नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए ।

कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरू जान पाएका थिएनन् । मलेसिया सरकारबाट विदेशी कामदार लिन सुरु गरेको र सोअनुसार मागपत्र अहिले नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण भई आएकाले श्रम स्वीकृति प्रदान गर्ने कार्य पुनः सुरु गर्ने निर्णय गरिएको हो । नेपाली कामदारका लागि प्रमुख गन्तव्यमध्ये मलेसिया पनि एक हो ।

मलेसियामा हाल करिब दुई लाख नेपाली कामदार रहेको अनुमान छ । तर, सन् २०१५ मा भने सबैभन्दा बढी करिब सात लाख नेपाली श्रमिक रहेका थिए । यसअघि पनि मलेसिया रोजगारी अलमलमा थियो । मलेसिया रोजगारीमा जाने कामदारबाट मेडिकल, भिसा सहजीकरण, भिएलएन, बायोमेट्रिकलगायतका नाममा अतिरिक्त शुल्क लिने सिन्डिकेट अन्त्य हुनुपर्ने भन्दै नेपाल सरकारले १२ जेठ ०७५ देखि श्रमिक पठाउन बन्द गरेको थियो । तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले ठगी गर्नेमाथि कारबाही अभियान चलाउँदै श्रम स्वीकृति रोकेपछि मलेसियन सरकार श्रम समझदारीका लागि आएको थियो । तत्कालीन समयमा नेपाल सरकार र मलेसियन सरकारबीच शून्य लागतमा सम्झौता भएको थियो । ०७५ कात्तिक ११ गते यस्तो सम्झौता भएको थियो ।