पल शाहविरुद्ध तेस्रोपटक म्याद थप, कति दिन ?

रामेछाप खबर संवाददाता

४ चैत, काठमाडौं ।

नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा परेका नायक पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरिएको छ । शाहविरुद्ध आज तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो ।

शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । शाहविरुद्ध गत फागुन १५ गते पहिलो पटक सात दिन र २१ गते १२ दिनको म्याद थप गरिएको थियो । नवलपुरमा पनि जाहेरी परेपछि उनलाई नवलपुर लगेर अनुसन्धान गरिएको थियो । नवलपुर अदालतमा शाहविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।

सरकारी वकिलको कार्यालयले उनीविरुद्ध सबै प्रमाण जुटाएर अदालतमा मुद्दा दायर गरेको छ । यस्तै अनुसन्धानका लागि पक्राउ परेका शाहका व्यवस्थापक कृष्ण जोशीविरुद्ध पनि पाँच दिनको म्याद थप गरिएको छ ।

यो पनि…फाइचौरमा स्थायी प्रहरी चौकी स्थापना

जुम्लाको सिञ्जा गाउँपालिका–५ फाइचौरमा स्थायी प्रहरी चौकी स्थापना भएको छ । भौगोलिकरूपमा निकै निकट मानिएको सो क्षेत्रका स्थानीयवासीले प्रहरी चौकीको माग गर्दै आएका थिए । स्थानीयवासीको मागअनुसार प्रहरी चौकीको स्थापना गरेको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले जानकारी दिनुभयो ।

समाजका विकृति विसङ्गतिको अन्त्य गर्न प्रहरीको महत्वपूर्ण भूमिका हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । प्रहरी हवल्दार नरिमा कठायतको कमाण्डमा पाँच प्रहरी चौकीमा राखिएको छ । भौगोलिकरूपमा निकै विकट भएकाले सिञ्जा गाउँपालिकाको–५ र ६ मा घरेलु हिंसा, दुव्र्यवहार, कुटपिट, बहुविवाह र चोरीका घटना हुने गरेको बताइएको छ ।

वडाध्यक्ष मुनबहादुर रावतले भन्नुभयो, “पहिलेदेखि प्रहरी चौकीको माग गरिएको थियो । अहिले आएर चौकी स्थापना भयो । यहीँका स्थानीयवासीमा राम्रो सन्देश गएको छ ।”सिञ्जा–५ र ६ वडामा पाँच गाउँ छन् । कुनै घटना हँुदा पहिले तीन घण्टा हिँडेर नराकोट प्रहरीचौकीमा जानुपर्ने बाध्यता थियो । प्रहरीचौकी स्थापनाले स्थानीयवासी उत्साहित छन् । गाउँको शान्ति सुरक्षा कायम हुने अपेक्षा गरिएको स्थानीयवासी बताउँछन् ।