सिन्धुली जाँदै प्रचण्ड, केके छन् कार्यक्रम ?

रामेछाप खबर संवाददाता

४ चैत, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली जाने भएका छन्। नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्न अध्यक्ष प्रचण्ड सिन्धुली जान लागेका हुन्। अध्यक्ष प्रचण्डले एक विद्यालयको भवनकमो समेत उद्घाटन गर्ने कार्यक्रम छ। अध्यक्ष प्रचण्डसँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सिन्धुली जाने कार्यक्रम छ।

भवन उद्घाटनका लागि प्रचण्ड आज दिउँसो १ बजे सिन्धुली आई पुग्ने नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी दिए।
भवन उद्घाटनपछि अध्यक्ष प्रचण्डले आजै सिन्धुलीका उद्योगी व्यापारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

सिन्धुलीका कार्यक्रम सकेर अध्यक्ष प्रचण्ड शनिबार काठमाण्डौं फर्कने छन्। स्थानिय तहको निर्वाचन नजिकिँदै गएका बेला अध्यक्ष प्रचण्डले देश दौडाहा तीब्र बनाएका छन्।

यो पनि…चेपाङ सङ्घको राष्ट्रिय महाधिवेशन सुरु

नेपाल चेपाङ सङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशन यहाँ सुरु भएको छ । महाधिवेशनको बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्नुभएको हो ।

मुख्यरुपमा बागमती प्रदेशमा सीमान्तकृत यस समुदायको बसोबास रहेको छ । मुख्यमन्त्री पाण्डेले यो समुदायको उत्थानमा लाग्नुपर्ने बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय निकायले चेपाङका समस्या पहिचान गरी समाधानतर्फ जानुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा सङ्घका अध्यक्ष जीतेन्द्र चेपाङले आफ्ना समस्याका बारेमा प्रकाश पार्नुभएको थियो । महाधिवेशन बन्दसत्र आज चल्दै छ । बन्दसत्रले ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । विधानअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष एक÷एक तथा सचिव दुई जना गरी सात सदस्यीय पदाधिकारी चयन हुनेछ ।

महाधिवेशनमा चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहुँ र लमजुङका २५७ प्रतिनिधि सहभागी भएको आयोजकले जनाएको छ । सङ्घका बागमती प्रदेश सचिव लक्ष्मण चेपाङका अनुसार नेपालमा चेपाङको जनसङ्ख्या ६८ हजार रहेको छ । पहाडी क्षेत्रमा बसोबास गर्ने उनीहरु धेरैको आफ्नै लालपुर्जा छैन । भूमिहीन धेरै रहेको भन्दै उहाँले धेरै समस्याबाट गुज्रिएको बताउनुभयो ।