कुन कुन सवारी साधनामा हट्यो जोरबिजोर प्रणाली ?

रामेछाप खबर संवाददाता

१४ माघ, काठमाडौं ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएका छन् । शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायातका साधन (बस, माइक्रो बस र टेम्पो) मा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । तर, निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत् राखिएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले कोरोना भाइरस संक्रमणको जोखिमलगायत पछिल्लो परिस्थितिको मूल्यांकन गरेर सार्वजनिक सवारी साधनमा जोरबिजोर हटाइएको र निजी सवारी तथा ट्यांक्सीको हकमा यसअघि कायम गरिएको जोरबिजोर प्रणालीलाई यथावत् राखिएको बताए । यसअघि जारी आदेशका अन्य प्रावधानलाई भने निरन्तरता दिइएको उनले बताए ।

डान्सबार, स्वीमिङपुललगायत माघ मसान्तसम्मै बन्द गर्न सिफारिस

कोरोना संक्रमण कायमै रहेकाले डान्सबार, स्वीमिङ पुल, क्लब, धार्मिक क्षेत्र, फुटसल लगायतका क्षेत्र आगामी माघ मसान्तसम्म बन्द गर्न सिफारिस भएको छ। बुधबार बसेको सीसीएमसीसीको बैठकले यी क्षेत्र माघ मसान्तसम्मै बन्द गर्न सिफारिस भएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

यसअघिको क्याबिनेट बैठकले यी क्षेत्र माघ १५ सम्म बन्द गर्ने निर्णय भएकामा सीसीएमसीले फेरि माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको हो ।