मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ

रामेछाप खबर संवाददाता

१२ माघ, काठमाडौं।

मलेसियामा कार्यरत नेपाली श्रमिकहरूले सिटी फुटबल गुप (सीएफजी), टीएफसीलगायत फुटबलको सट्टाबाजी गर्ने अनलाइन प्लेटफर्ममा गरेको करोडौं लगानी डुबेको छ । परदेशमा दुःख गरेर कमाएको रकम त्यसरी डुबाउनेहरूमा सबैभन्दा बढी निम्न आय भएका श्रमिकहरू छन् ।

विभिन्न मुलुकका फुटबल लिगका खेलहरूमा बाजी लगाउन भन्दै खोलिएका वान–बी, वान–डी, सीएफजी, टीएफसी, माई फुटबललगायत अनलाइन प्लेटफर्म एकाएक बन्द भएपछि नेपाली श्रमिकहरूको ठूलो लगानी डुबेको हो । मोबाइल एप्समार्फत लगानी गरिने यी प्लेटफर्महरू जनवरी २० देखि सञ्चालनमा छैनन् ।

सट्टेबाजीका अनलाइन प्लेटफर्म बन्द भएपछि तिनका मोबाइल एप्स निष्क्रिय छन् । ती प्लेटफर्म र एप्सहरू कसले कहाँबाट चलाएको भन्ने खुलेको छैन । सट्टेबाजीका लागि बनाइएका ती प्लेटफर्महरूमा फुटबल लिग र क्लबहरू भने रुवान्डादेखि इजरायलसम्मका छन् । तर, प्लेटफर्ममा उल्लेख गरिएका लिग र क्लबहरूको वास्तविक लिग र क्लबसँग भने कुनै सम्बन्ध हुने गरेको छैन ।

सट्टेबाजीका लागि मात्र विभिन्न लिग र क्लब समावेश गरेर बनाइएका प्लेटफर्ममा बाजी लगाउनेहरूलाई ती लिग अस्तित्वमा छन् कि छैनन् र के कस्ता टिम खेल्छन् भन्नेसमेत जानकारी हुन्थेन । आफूले बाजी लगाएको खेल वास्तविक हो होइन भन्ने पनि उनीहरूलाई थाहा हुँदैनथ्यो । उनीहरूको चासो आफ्नो खातामा कति रकम जम्मा हुन्छ र भयो भन्ने कुरामा मात्र हुने गर्थ्यो । जब प्लेटफर्म नै बन्द भयो, तब मात्र उनीहरूले आफू ठगिएको थाहा पाए ।

३ हजार रिंगेटदेखि एक लाख ८५ हजार रिंगेटसम्म रकम डुबेको पीडितहरूले कान्तिपुरलाई बताए । ‘मैले ५ महिनादेखि सीएफजीमा पैसा लगाउँदै आएको थिएँ । मेरो एकाउन्टमा एक लाख ८५ हजार रिंगेट पुगेको थियो,’ दोलखाका एक नेपाली श्रमिकले भने, ‘यो एप्लिकेसन यसरी एक्कासि बन्द हुन्छ भने लागेको थिएन । यो रकम दाबी गर्न जाने ठाउँ नै छैन ।’

स्थानीय एजेन्टहरू पनि ठगिएका छन् । एजेन्टहरूमा कतिपय नेपाली पनि छन् । मलेसियास्थित गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद थापाका अनुसार पीडित हुने नेपाली श्रमिकको संख्या निकै ठूलो छ । ‘सीएफजीलगायत एप्समा लगानी नगर्ने नेपाली भेटिन नै मुस्किल छ । अहिले मेरो यति गयो, यसको यति गयो भन्नेहरू मात्रै भेटिन्छन्,’ उनले भने, ‘नेपालीको डुबेको रकम राशि निकै धेरै छ ।’

मलेसियामा कार्यरत रहेका नेपालीहरूका अनुसार यी एप्लिकेसनहरू एक वर्षदेखि चल्तीमा देखिए पनि तीन महिनायतादेखि लगानी गर्ने नेपालीको संख्या ह्वात्तै बढ्न थालेको थियो । ‘यो मलेसियामा दर्ता गरिएको कम्पनी भनिएको थियो । आज लगानी गर्नेबित्तिकै आजै बेलुका खातामा पैसा आउँथ्यो,’ हेटौंडाका अभिसिंह तामाङले भने, ‘लगानीको सीमा थिएन । थोरै लगानी गर्न पनि सकिने व्यवस्था थियो ।’ तामाङले चार एप्लिकेसनमा १८ हजार रिंगेट लगानी गरेका थिए । ‘मेरो सबै डुब्यो,’ उनले भने, ‘हाम्रो कम्पनीमा काम गर्ने दुई सय नेपालीको रकम डुब्यो ।’

एप्लिकेसनमा दर्ता भएपछि हरेक दिन फुटबल म्याचमा लगानी गर्नुपर्थ्यो । ‘उनीहरूले (सञ्चालक) ले गेमको नाम पठाउँछन् । त्यसमा कति लगानी गर्ने र लगानीको कति प्रतिशत पाइन्छ भनेर ह्वाट्सएप समूहमा जानकारी दिन्थे,’ मलेसियाको जोहोरबारुमा कार्यरत अनिल कार्कीले भने, ‘सोहीबमोजिम लगानी गर्छन् । यसमा सुरुमा खाता खोल्दा रकम जम्मा गर्नुपर्छ । जति बढी लगानी गर्‍यो त्यति धेरै कमाइ हुने लोभमा मान्छेले निःसन्देह लगानी गरेका छन् । म जहाँ कार्यरत छु, त्यो कम्पनीबाट मात्रै एक लाखभन्दा रिंगेट ठगी भएको छ । मेरो नजिकैको कम्पनीमा कार्यरत नेपालीहरूको ४ लाख ५३ हजार रिंगेट गएको म आफैंले डिटेल्समा हेरेको छु ।’

हरेक दिन बिहान १० देखि ११ बजेको बीचमा ‘शून्य जोखिम’ भन्दै सीएफजीको खेलमा लगानी गर्न म्यासेज आउँथ्यो । ‘त्यसमा हामी लगानी गर्थ्यो । राति १० देखि ११ बजेको बीचमा आफ्नो खाता जाँच गर्दा बढेको रकम हालिदिन्थ्यो,’ कार्कीले भने, ‘यो म्याच फिक्सिङ होइन । फुटबल खेल नाम मात्रैको रहेछ, खेल नहुने रहेछ । हामीले खेल चेक गर्दा अन्य भने देखिँदैनथ्यो ।’

उनका अनुसार खातामा जम्मा भएको रकम निकाल्नु पर्दा थप लगानी गर्न प्रोत्साहन गरिन्थ्यो । थोरै पैसा निकाल्न चाहे तुरुन्तै निकाल्न पनि दिइन्थ्यो । ‘धेरै निकाल्नुपर्दा प्रक्रियामा छ भनेर देखाउँथ्यो । केही समयपछि निकाल्न पनि पाइन्थ्यो । यसले गर्दा हामीलाई विश्वास बढ्यो,’ उनले भने, ‘त्यसरी बढ्दै गएको लगानी बडो नमज्जाले खाइदियो ।’ मलेसियामा कार्यरत त्रिलोचन गौतमले आफ्नो कम्पनीमा कार्यरत २० जनाको दुई लाख रिंगेट डुबेको बताए । ‘जसजसले सुरुसुरुमा पैसा लगाए, उनीहरूले राम्रै पैसा पनि कमाए । हरेक मंगलबार लगानीको दुई प्रतिशत दिन्थ्यो भने अन्य बार १.९५ प्रतिशत आउँथ्यो । शतप्रतिशत फाइदा आउने भएपछि आँखा चिम्लेर यसको पछाडि लागेका थिए,’ उनले भने, ‘पैसा आइरहेको देखेपछि कसैले कसैलाई अविश्वास गर्ने काम नै भएन ।’

हरेक क्याम्पमा रहेका श्रमिकले नेपालमा पैसा पठाउनेभन्दा यतै लगानी गर्ने स्थिति देखिन थालेको तामाङको अनुभव छ । ‘१० हजार रिंगेट लगाउँदा दैनिक दुई सय रिंगेट बसेर नै आउने भयो । यसरी महिनाको ६ हजार रिंगेट आउँथ्यो । घरमा चाहिने पैसा मात्रै पठाएर बाँकी यतै राख्न थालेका थियौं । किनभने हामीजस्ता थोरै आम्दानी भएकाहरूका लागि महिनामा बसेरै दुई लाखसम्म कमाउने अवस्था देखिएपछि सबैजना आकर्षित हुन थाले । त्योबाहेक आफ्नो कम्पनीबाट आउने तलब छुट्टै छँदै छ । मलेसियामा नै बसेर अस्ट्रेलिया, अमेरिकामा बस्नेहरूले कमाउने पैसा कमाउन पाइयो भनेर दंग हुन थाल्यौं,’ तामाङले भने, ‘अहिले एप्लिकेसन नै खुल्दैन । सबैको ओठतालु सुकेको छ ।’

अझ १० हजार रिंगेट जम्मा गरेको ६ महिना ८ दिनपछि १० लाख रिंगेट पाउने कार्यक्रम ल्याएपछि यो प्याकेजमा धेरैले लगानी गरे । ‘६ महिनापछि तीन करोड पाउने सुनिश्चित भएको अफर आएपछि लगानी नगर्ने को होला ?’ तामाङले भने, ‘यो कार्यक्रममा लगानी गर्न कम्तीमा ६ महिनाको तलब जम्मा भएको छ ।’

पीडितहरूले डुबेको रकम फिर्ता नहुने देखेपछि उजुरी लिएर नेपाली दूतावास पुगेका छैनन् । ‘अब कसलाई समात्न जाने, कहाँ समात्न जाने थाहा छैन । के मुख लिएर दूत्वाास जाने ?’ कार्कीले भने, ‘चोक्टा खाना गएकी बूढी झोलमा परेर मरी भएको छ ।’ मलेसियामा सट्टेबाजीमा पैसा डुबेकाहरू ३ हजार ४ सय जनाको सूची कान्तिपुरमा प्राप्त भएको छ । तिनीहरूमा ८५ देखि २ लाख २० हजार रिंगेट डुब्नेहरू छन् । नेपाल राष्ट्र बैंकको मंगलबारको विनिमय दरअनुसार १ रिंगेट बराबर नेपाली २८ रुपैयाँ ३४ पैसा हुन्छ ।

क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार यसबारे औपचारिक रूपमा उजुरी आएको छैन । ‘नेपाली श्रमिकहरू फसेको भन्ने अनौपचारिक रूपमा सुनिएको छ । कसरी कहाँ फसे भन्ने विस्तृत विवरण भने हामीकहाँ आइपुगेको छैन,’ दूतावासका एक अधिकारीले कान्तिपुरलाई भने ।

मलेसियामा चार लाखभन्दा बढी नेपाली कामदार कार्यरत रहेको अनुमान छ । नेपाल भित्रिने रेमिट्यान्सको प्रमुख स्रोत मुलुकमध्ये मलेसिया पनि पर्छ । पाँच वर्षअघिसम्म त मलेसियाबाट सबैभन्दा बढी रेमिट्यान्स नेपालमा भित्रिने गरेको थियो । केही वर्षयता भने मलेसियाभन्दा बढी रेमिट्यान्स कतार, अमेरिका, साउदी अरेबिया र भारतबाट आउने गरेको छ । तर, पछिल्लो समय अनलाइन सट्टेबाजी, हुन्डीले मलेसियाबाट औपचारिक माध्यम हुँदै भित्रिने रकम झन् घटाएको आशंका गरिएको छ ।

विगत केही महिनायता रेमिट्यान्स निरन्तर घट्नुको एउटा कारण सट्टेबाजी पनि भएको मलेसियामा रहेका नेपालीहरूको पनि बुझाइ छ । ‘अहिले हरेक नेपालीको खाता छ । त्यसरी खातामा रकम जम्मा गरेका नेपालीको लगानी यस्तोमा गएर फसेको छ । जुनसुकै क्याम्पमा गए पनि यसमा फसेका नेपाली भेटिन्छ,’ मलेसियामा कार्यरत त्रिलोचन गौतमले भने, ‘पैसा यता नै लगाएपछि नेपालमा रकम कहाँबाट जान्छ ?’
साभार : होम कार्की, कान्तिपुर