ओमिक्रोन वा सामान्य रुघाखोकी हो भनेर कसरी थाहा पाउने ?

रामेछाप खबर संवाददाता

१२ माघ, काठमाडौं।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले यति बेला सबै जनालाई त्रसित बनाएको छ । यस्तो अवस्थामा कसैलाई सामान्य रुघाखोकी सिजनल इन्फ्लुन्जा लाग्दा पनि त्रसित बन्नु पर्ने अवस्था आएको छ । कतिपय व्यक्तिले भने ओमिक्रोलाई सामान्य रुघाखोकीको रुपमा लिने गरेको देखिएको छ । चिकित्सहरूले यसअघि डेल्टाभन्दा कम खतरनाक भएको बताए पनि ओमिक्रोनलाई हल्का रुपमा नलिन सुझाउँछन् ।

जाडोयाममा नाक बन्द हुने वा नाकबाट पानी बग्ने, घाँटी दुख्ने र खोकी लाग्ने भइरहन्छ। तर चिसो लागेको हो कि रुघाखोकी हो ? कि कोरोनाभाइरस सङ्क्रमण नै हो ? तपाईलाई छुट्याउन समस्या परिरहेको हुनसक्छ । कोरोना भाइरस (कोभिड-१९) र मौसमी रुघाखोकी गराउने इन्फ्लुएञ्जा भाइरस सङ्क्रमणको लक्षण उस्तै–उस्तै हुने गर्दछ ।

यी लक्षणहरू हेरेर ओमिक्रोन सजिलै थाहा हुन्छ :
–थकान महसुस हुने, जोर्नी दुख्ने,लगातार टाउको दुखिरहन, घाँटी दुख्ने समस्या, निरन्तरको खोकी, ज्वरोर उच्च तापक्रम, स्वाद वा गन्ध परिवर्तन हुने वा हराउने, पखाला, नाकबाट पानी बग्ने।

यस्ता छन् चिसोका लक्षण
–रुघाखोकी र फ्लुमा टाउको दुख्ने र नाकबाट पानी बग्ने, जाडोमा हाच्छ्युँ आउने गर्छ र टाउको भारी रहन्छ, चिसो, दुखाइले टाउको बाहेक शरीरका अन्य भागमा असर गर्दैन, जीउ दुख्ने, टाउको दुख्ने, शरीर गल्ने र नाकबाट पानी बग्ने अनि खोकी आउने ।

ओमिक्रोनको लक्षणका बारेमा गरिएको एक अध्ययनमा थप दुईवटा नयाँ लक्षणहरु पत्ता लागेका छन् । ओमिक्रोन भएको व्यक्तिलाई वाकवाकी लाग्नुका साथै भोक नलाग्ने पनि देखिएको छ । यी लक्षण कोभिडको भ्याक्सिन लगाइसकेकाहरुका साथै बुस्टर डोज लगाउनेहरुमा समेत पाइएको छ ।

कोरोनाभाइरस लागेका व्यक्तिमा दुई हप्तासम्म लक्षण देखा पर्न सक्छ। तर साधरणतया पाँच दिनभित्र लक्षण देखिन्छ। सास फेर्न अप्ठेरो हुनु गम्भीर खालको कोरोनाभाइरस सङ्क्रमण भएको लक्षण हो। यदि तपाईँलाई सास फेर्न गाह्रो भयो भने नजिक कै स्वास्थ्य संस्थासंग सल्लाह लिन सक्नु हुनेछ ।