ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछः डब्लूएचओ

रामेछाप खबर संवाददाता

१० माघ, काठमाडौं।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् । ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने । मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको भनाई छ ।

सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त रहने उनको विश्वास छ । खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताए । ‘तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ,’ उनले भने । अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरेका छन् । अमेरिकामा कोभिड संक्रमण विस्तारै घट्दो क्रममा छ ।

दुबई र साउदीलाई लक्षित गरी हुथी विद्रोहीद्वारा ब्यालेस्टिक मिसाइल हमला

यमनका हुथी विद्रोहीले प्रहार गरेका दुई ब्यालेस्टिक मिसाइललाई अबुधावीको आकाशमै ध्वस्त पारिएको दावी संयुक्त अरब एमिरेट्सले गरेको छ । गत सोमबार ती विद्रोहीले अबुधावीको एक तेल भण्डारण थलोमा ड्रोन आक्रमण गर्दा तीनजनाको मृत्यु भएको थियो ।

युएईको रक्षा मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिलाई उध्दृत गर्दै सोमबार डब्लुएएम न्यूज एजेन्सीले जनाएअनुसार ध्वस्त पारिएका दुई ब्यालेस्टिक मिसाइलहरु युएईका अलग ठाउँहरुमा खसेका थिए ।

त्यहाँको रक्षा मन्त्रालयले आक्रमणविरुद्ध आफू तयार रहेको बताउँदै मुलुकलाई जोगाउन जुनसुकै कदम चाल्न तयार रहेको समेत जनाएको छ । साउदी अरेबियाको सरकारी मिडियाले जनाएअनुुसार हुुथीले प्रहार गरेका ब्यालेस्टिक मिसाइल साउदीको दक्षिणी भेगमा खसेको थियो ।

हुथी विद्रोहीहरुले आफूहरुले दुबईका महत्वपूर्ण र चर्चित थलो तथा अबुधावीस्थित धाफरा एयरबेसलाई लक्षित गरी ती मिसाइल प्रहार गरेको जनाएको छ ।

हुथी विद्रोहीका प्रवक्ता याहा सारीले आफूहरुले लक्ष्य प्राप्त गरेको जनाउँदै लडाइलाई थप अघि बढाउने बताएका छन् । युएई हुथी विद्रोहीविरुद्ध साउदी अरबको नेतृत्वमा रहेको सैनिक गठबन्धनको एक सदस्य मुलुक समेत हो । यो लडाइमा दशौं हजारको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन् भने राष्ट्रसंघले निकै खराब मानवीय संकट भएको जनाएको छ ।