वेस्ट इन्डिजलाई इंग्ल्यान्डले एक रनले जित्यो

रामेछाप खबर संवाददाता

१० माघ, काठमाडौं।

मोइन अलीले अलराउन्ड प्रदर्शन गरेपछि इंग्ल्यान्डले आइतबार राति वेस्ट इन्डिजमाथि एक रनको रोमाञ्चक विजय हासिल गरेको छ । जितसँगै इंग्ल्यान्डले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा १–१ को बराबरी गरेको छ ।

बारबाडोसको किङ्सटन ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो । १७२ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि रोमारियो शेफर्ड र अकिल होसेनले समान अविजित ४४ रन बनाए । त्यस्तै, निकोलस पुरनले २४ रन बनाउँदा ड्यारेन ब्राभोले २३ रन जोडे ।
इंग्ल्यान्डका मोइन अलीले ३ विकेट लिए । चार ओभर बलिङ गरेका अलीले २४ रन दिएका थिए । एडिल रसिदले २ विकेट लिँदा रिस टोप्ले र क्रिस जोर्डनले १/१ विकेट लिए ।

त्यसअघि, इंग्ल्यान्डका लागि जेसन रोयले सबैभन्दा धेरै ४५ रन बनाएका थिए । अलीले ३१, जोर्डनले २७ र टोम ब्यान्टनले २५ रन बनाएका थिए । अरू खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

वेस्ट इन्डिजका जेसन होल्डर र फाबियान एलेनले समान २ विकेट लिए । त्यस्तै, शेल्डन कोट्रेल, अकिल होसेन, किरन पोलार्ड र रोमारियो शेफर्डको नाममा १/१ विकेट रह्यो ।यसअघि, पहिलो खेल वेस्ट इन्डिजले ९ विकेटले जितेको थियो ।