लकडाउन हुन्छ भनेर नआतिनुस्, सरकार लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्य मन्त्री

रामेछाप खबर संवाददाता

३० पुस, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन् ।

उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए । मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए ।

मन्त्री खतिवडाले कोरोनाको ओमिक्रोन भेरियन्टबाट बच्न होशियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे । उनले कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि आग्रह गरे ।

मन्त्री खतिवडाले विज्ञहरुले बुस्टर डोज लगाएपछि ओमिक्रोन भेरियन्टबाट बच्न सहज हुने बताएकोले आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिए । उनले माघको दोस्रो हप्तामा ६० वर्ष माथिको उमेरसमूहका नागरिक र तेस्रो वा चौथो हप्ताबाट आम नागरिकहरुलाई कोरोनाविरुद्धको बुस्टर डोज उपलब्ध गराउने बताए ।

शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक

विहादी गाउँपालिकास्थित सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक लगाइएको छ । पवित्र कालीगण्डकी किनारमा रहेको शालिग्राम शिलामा वर्षेनी ठूलो मेला लाग्ने गर्दछ । बढ्दो कोभिड सङ्क्रमणका कारण मेला लगाउन रोक लगाइएको हो । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण बढ्दै गएको र गृह मन्त्रालयले समेत २५ जनाभन्दा बढी भेला नहुन आदेश जारी गरेका बेला मेला लगाउन रोक लगाइएको गाउँपालिकाका अध्यक्ष कमल भुसालले जानकारी दिनुभयो ।

पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीमा हरेक वर्षको माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ । यहाँ मेला भर्नका लागि स्वदेश तथा विदेशवाट समेत भक्तजन आउने गर्दछन् ।

गाउँपालिकाले सूचना जारी गर्दै सेतीवेणीमा लाग्ने माघे सङ्क्रान्तिको नियमित मेला, महोत्सवलगायत अन्य भीडभाड हुने कार्य नगर्न नगराउनुहुन अनुरोध गरेको छ । केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड व्यवस्थापन समितिको बैठकले पनि आज राति १२ बजेदेखि २५ जनाभन्दा बढी भेला नहुने आदेश जारी गरेको छ ।