विदेशका जेलमा रहेका आफन्तलाई उद्धार गर्न के गर्नु पर्छ ?

रामेछाप खबर संवाददाता

२९ पुस, काठमाडौं ।

विदेशका जेलमा रहेका आफन्तलाई उद्धार गर्नका लागि पहिले श्रमिकका आफन्तले कन्सुलर विभागमा निवेदन पेस गर्नुपर्ने हुन्छ। जसमा कुन देश गएको, कुन जेलमा,पीडितको पासपोर्ट नम्बर,भिसा, कुन काममा गएको, श्रम स्वीकृति लिए नलिएको, हाल सम्पर्क गर्ने ठेगानालगायत सम्पूर्ण जानकारी खुलाएको निवेदन दिनुपर्ने हुन्छ।

यी सम्पुर्ण विवरणसहित कन्सुलर विभागले सम्बन्धित देशको राजदूतावासलाई पत्राचार गर्छ। दुतावासले सो देशमा गएर सम्पूर्ण जानकारी लिइ काम सुरु गर्छन्। नेपालको श्रम सम्झौता भएको मुलुकमा काम गर्नका लागि नियोगमा स्थानीय कानुन जानेका वकिल राखिन्छ।

सामान्य प्रकृतिको घटनामा जेल परेको छ भने दूतावासको कर्मचारीबाट नै उद्धार गर्न सकिन्छ। जसमा खर्च लाग्दैन। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको उद्धार सरकारले गर्ने गरेको कन्सुलर विभागका महानिर्देशक धनबहादुर वलीले बताए। सम्बन्धित देशको वकिल लगाउनु परेको खण्डमा खर्च लाग्ने गर्दछ। जसमा सरकाले खर्च गर्ने विभागले जनाएको छ।

कुन घटनामा कति खर्च लाग्छ भन्ने भन्न सकिदैन। महानिर्देशक वलीले भने, ‘सामान्य घटनामा जेल परेको भए खर्च लाग्दैन। जटिल मुद्दा नै लड्नु पर्ने अवस्थामा खर्च लाग्छ।’ वैदेशिक रोजगारीमा गई विदेशका जेलमा रहेका नेपालीहरूले गल्ति नै गरेको भए पनि नेपाल ल्याउन आफूहरूले पहल गर्ने महानिर्देशक वलीले बताए।

कानुनी सहायताका लागि १५ लाख

वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका अपराधजन्य गतिविधिमा सहभागी नभए पनि बिना कसुर जेल जीवन भोग्न बाध्य नेपालीलाई सरकारले कानुनी सहायता गर्दै आएको छ।

विदेशी जेलमा रहेका र कानुनी सहायता गर्नु पर्नेलाई प्रतिव्यक्ति १५ लाख रूपैयाँ सहायता उपलब्ध गराउने वैदेशिक रोजगार बोर्डका निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए।
थाहा खबर