दुधको मूल्य ह्वात्तै बढ्यो, प्रतिलिटर कति ?

रामेछाप खबर संवाददाता

२८ पुस, काठमाडौं ।

फाइल तस्बिर
पछिल्लो समय सबै दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भइरहेको छ । अब दूधको मूल्य पनि प्रतिलितर एकैपटक १० रुपैयाँ वृद्धि हुने भएको हो ।
हाल प्रतिलितर दूधको मूल्य ७६ रुपैयाँ रहेकोमा अब १० रुपैयाँ मूल्य बढेर ८६ रुपैयाँ पुग्नेछ । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डका प्रवक्ता डा. बालक चौधरीले प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको बताए । यसभन्दा पहिले २०७३ सालमा प्रतिलिटर ६ रुपैयाँ दूधको मूल्य वृद्धि भएको उनले बताए ।

बोर्डले सिफारिस गरेको मूल्यमा मन्त्रालयले छलफलग गरेर नयाँ दूधको मूल्य कायम हुने चौधरीले जानकारी दिए । १० रुपैयाँ मूल्य वृद्धि हुँदा ७ रुपैयाँ प्रति लिटर कृषकलाई र ३ रुपैयाँ उद्योगीलाई जानेछ ।

व्यवसायीलाई तालिम

पोखराका लघु, घरेलु तथा साना व्यवसायीलाई लक्ष्य गरी लेखा व्यवस्थापन र लेबलिङ, प्याकेजिङ तथा बजारीकरणसम्बन्धी दुईदिने तालिम दिइएको छ ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको आयोजना तथा पोखरा उद्योग वाणिज्य सङ्घ सहआयोजनामा गरिएको तालिममा लेखा व्यवस्थापनमा ५० जनाको सहभागिता थियो । लेखा चुस्त–दुरुस्त राख्न नसक्दा व्यहोर्नुपर्ने हैरानी र घाटाबाट व्यवसायीलाई मुक्त गराउने उद्देश्यका साथै गुणस्तरीय उत्पादनलाई लक्ष्य गरी तालिम आयोजना गरिएको हो । तालिममा दोहोरो लेखा प्रणाली तथा लेबलिङ र प्याकेजिङ कसरी गर्ने भन्नेबारे जानकारी दिइएको थियो ।

लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रका कार्यकारी अधिकृत ऋषिराम पङ्गेनीले लेखा प्रणाली चुस्त राख्न र प्रतिस्पर्धी बजारमा टिक्नका लागि तालिम फलदायी बन्ने विश्वास व्यक्त गर्दै उत्पादन र उत्पादकत्व वृद्धि सहयोग पुग्ने बताउनुभयो । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाले लेखा चुस्त नराख्दा भोग्नुपर्ने दण्ड–जरिवानाबाट बचाउन तालिम उपयोगी बन्ने बताउनुभयो । प्रतिस्पर्धी बजार प्रवेशका लागि आकर्षक लेबलिङ र प्याकेजिङ पहिलो शर्त भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव सुरेन्द्रमान विजुक्छे, तालिमका सहभागी तथा उद्यमी सुनयना पालिखे, प्रशिक्षार्थी लालप्रसाद ढकाललगायतले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न जरुरी भएको धारणा राख्नुभयो ।