बतास समूहले दियो सरकारलाई यस्तो चुनौती

रामेछाप खबर संवाददाता

२८ पुस, काठमाडौं ।

पछिल्लो समय विवादित बनेको व्यावसायिक घराना बतास समूहले सरकारलाई आफूसँग गरेका सबै सम्झौताहरू खारेज गर्न चुनौती दिएको छ।समूहका अध्यक्ष आनन्दराज बतासले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूहरूसँग भएका सम्झौता एकमुष्ट खारेज गर्न सरकार स्वतन्त्र रहेको उल्लेख गरेका हुन्।

‘बतास अर्गनाइजेसनले कानुनसम्मत रूपमा भाडामा लिएर सञ्चालन गरेका सम्पूर्ण व्यावसायिक सम्झौताहरू कानुनबमोजिम रद्द गर्न नेपाल सरकार स्वतन्त्र छ’, विज्ञप्तिमा लेखिएको छ, ‘त्यसैले बतास अर्गनाइजेसनले गरेको लगानी र त्यसको उचित क्षतिपूर्तिसहित आजकै मितिमा यदि सरकारले सम्पूर्ण सम्झौताहरू एकमुष्ठ खारेज गर्छ भने पनि हामीलाई कुनै आपत्ति नरहने कुरा समेत यहाँहरूमार्फत आम जनसाधारण र सरोकारवाला सबैलाई जानकारी गराउन चाहन्छौँ।’

नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई बनाएका सम्पूर्ण व्यापारिक संरचना सरकारले हटाइसकेको छ। केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालय भित्रबाट बतास समूहलाई जुनसुकै हालतमा हटाएरै छाड्ने बताएका थिए।

उनले भने, ‘संग्रहालयमा जुन गतिविधि भएको छ, आज पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्को पावरमा भएको बेला अर्कोले लिने। पर्सि अर्को पावरमा भएको बेला अर्कोले लिने। यो गर्दै जाँदा पूरै वातावरण नै धमिलो हुन्छ।’ उनले भने, ‘त्यसको संरक्षणको निमित्त यो हामी हटाएर छाड्छौँ।’

उनले नारायणहिटी संग्रहालयभित्र बतास समूहको प्रवेशको सम्बन्धमा छानविन सुरु गरिएको पनि बताएका छन्। सरकारको यस्तो कदमपछि बतास समूहले आज विज्ञप्ति निकालेको हो। बतास समूहले देशका विभिन्न स्थानमा सरकारसँग स्वीकृति लिएर विभिन्‍न काम गरिरहेको छ।

हेर्नुस पूर्णपाठ