उपत्यकामा स्मार्ट लकडाउन लागू, यस्ता छन मापदण्डहरु

रामेछाप खबर संवाददाता

२८ पुस, काठमाडौं ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले गए रातिदेखि स्मार्ट लकडाउन लागू गरेको छ । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले रातीदेखि नै ‘स्मार्ट लकडाउन’ लागू गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्मार्ट लकडाउनका लागि १८ वटा आदेश जारी गरेको छ । त्यस्तै, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले पनि फरक फरक विज्ञप्ति निकाली आदेश जारी गरेका छन् ।

स्थानीय प्रशासनहरुले सर्वसाधारणलाई अत्यावश्यक नपरी घरबाहिर ननिस्कन र सार्वजनिक स्थानमा जाँदा अनिवार्य मास्क लगाउन भनेका छन् । कोभिड महामारी सम्बन्धि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न, भौतिक दुरी कायम राख्न र साबुन पानीले बेलाबेलामा हात धुन पनि प्रशासनले आग्रह गरेको छ ।

यसैगरी, माघ ७ गतेदेखि सिनेमाघर र पार्टी प्यालेसलगायत सार्वजनिक स्थानमा जाँदा अनिवार्य खोप कार्ड देखाउन पनि आग्रह गरिएको छ । खोप कार्डको फोटो खिचेर मोबाइलमा राखे पनि हुने ब्यवस्था गरिएको छ ।

यस्तै, २५ जनाभन्दा बढी भेला नहुन पनि आग्रह गरिएको छ । औषधि लगायत अत्यावश्यक बस्तु तथा सेवा आपूर्तिमा कृतिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने गरेमा कानुन बमोजिम कारबाही गर्ने पनि आदेशमा उल्लेख छ । सरकारले यस अघि नै माघ १५ सम्मका लागि विद्यालय बन्द गरिसकेको छ ।

हालसम्म काेराेना भाइरसबाट ५५ लाख ३ हजार ८२२ जनाकाे मृत्यु

कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ५५ लाख ३ हजार ८२२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने ३१ करोड ३१ लाख ८६ हजार ३६८ जनामा संक्रमण पुष्टि भइसकेको छ। भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो- अमेरिका । अमेरिकामा हालसम्म ८ लाख ४२ हजार १३९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ६ लाख २० हजार ३६६ जनाले ज्यान गुमाइसकेका छन् । भारतमा हालसम्म ४ लाख ८४ हजार २१३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यसैगरी मेक्सिकोमा ३ लाख ४१२, पेरुमा २ लाख ३ हजार ६७, रुसमा ३ लाख ११ हजार २८१, बेलायतमा १ लाख ५१ हजार ९३, इटालीमा १ लाख ३९ हजार ५५९ र कोलोम्बियामा १ लाख ३० हजार ४६० जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।