ओमिक्रोनबाट दुई महिनामा युरोपको आधा जनसंख्या संक्रमित हुनसक्छः डब्ल्यूएचओ

रामेछाप खबर संवाददाता

२७ पुस, काठमाडौं ।

अबको दुई महिनामा युरोपको आधा जनसंख्या कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनसक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ। डब्ल्यूएचओले ओमिक्रोनको ‘छाल’ले युरोपको स्वास्थ्यप्रणाली धराशायी हुनसक्ने चिन्ता पनि प्रकट गरेको छ।

डब्ल्यूएचओका युरोप निर्देशक हन्स क्लुगले २०२२ को पहिलो सातामै सो क्षेत्रमा ७० लाखभन्दा बढी नयाँ संक्रमण फेला परेको जानकारी दिए। ओमिक्रोन पश्चिम युरोपको प्रमुख भेरियन्ट बन्दै गएको पनि उनले बताए।

‘यही दरमा जाने हो भने युरोपको आधा जनसंख्या आगामी ६ देखि ८ साताभित्र संक्रमित भइसक्ने देखिन्छ,’ उनले भने। भाइरस संक्रमणको दर अभूतपूर्व भएको उनको भनाइ छ। क्लुगका अनुसार खोप लगाउने दर कम भएका क्षेत्रमा यसको असर घातक हुनसक्छ। ओमिक्रोन फैलिइनसकेका मुलुकहरुका लाथिग तयारीको राम्रो अवसर रहेको पनि उनले बताए।

देशभर सक्रिय संक्रमित झण्डै १० हजार, ५ हजार काठमाडौं उपत्यकामै

कोरोनाको सक्रिय संक्रमितको संख्या झण्डै १० हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म ९ हजार ५२२ जना सकृय संक्रमितको संख्या छ ।

देशभरको सक्रिय संक्रमितको अवस्था हेर्दा काठमाडौँ उपत्यकामा सबैभन्दा बढीमा संक्रमण देखिएको छ । हाल काठमाडौँमा ३ हजार ५२१, भक्तपुरमा ६९९ र ललितपुरमा १ हजार ९० जना सक्रिय संक्रमित रहेका छन् । कुल गरी ५ हजार ३१० जना सक्रिय संक्रमित काठमाडौँ उपत्यकामै मात्रै रहेका छन् । विगत २४ घण्टामा काठमाडौंमा ९८०,भक्तपुरमा ८५ र ललितपुरमा २२१ जनामा संक्रमण देखिएको हो ।

विगत २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १५ हजार ३३ जनाको कुल परीक्षणमा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार १४४६ मा संक्रमण पुष्टि भएको थियो । पुस २२ गते संक्रमण दर ४.५ रहेकोमा पुष २७ गतेसम्म आइपुग्दा १६.३ प्रतिशतमा उकालो लागेको छ । दैनिक झण्डै दोब्बरको संख्यामा संक्रमण देखा परिरहेको छ ।