पृथ्वीजयन्तीको समर्थन र विरोधमा जुलुस,कीर्तिपुरमा थुक्ने कार्यक्रम

रामेछाप खबर संवाददाता

२७ पुस, काठमाडौं ।

आज राजधानीमा पृथ्वीनारायण शाहको तीन सयौं जन्मजयन्ती मनाउने तयारी छ । जसअन्तर्गत नेपाली काँग्रेस बीपीले भद्रकालीमा सवा जम्मा भएर सिंहदरबार अगाडि रहेको शालिकमा माल्यार्पण गर्दैछ ।त्यस्तै नेपालका लागि नेपाली समूहले र पूर्वराज ज्ञानेन्द्र शाहले पनि त्यहि समयमा शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रवादी नागरिक समाजले साढे ११ बजे असनमा जम्मा भएर बाजागाजासहित सिंहदरबारअगाडि सालिकमा जाने भनेको छ । उता राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि साढे ११ बजे भृकुटीमण्डपमा जम्मा भएर सिंहदरबार अगाडि सालिकसम्म जुलुसका साथ माल्यार्पण गर्न जाने बताएको छ ।

राष्ट्रिय शक्ति नेपालले दरबारमार्ग तीनधारा पाठशाला अगाडि जम्मा भएर पृथ्वीजयन्तीको अवसरमा र्याली निकाल्ने कार्यक्रम सार्वजनिक गरेको छ ।पृथ्वीनारायण शाहको स्मृतिमा पार्क तथा सालिक शिलान्यास हुँदैछ । कीर्तिपुर नगरपालिका चम्पादेवीस्थित रानीवन नाकेडाँडामा बिहान कार्यक्रम राखिएको छ ।

शाही युवा शक्ति रत्नपार्कमा जम्मा भएर र्यालीसहित सिंहदरबार अगाडि सालिकमा माल्यार्पण गर्न जाँदैछ । राष्ट्रिय सरोकार मञ्च नेपाल केन्द्रीय समितिले पनि दरबारमार्गको महेन्द्र शालिकबाट र्यालीसहित सिंहदरबार पुगेर शालिकमा माल्यार्पण गर्ने छ ।

उता विश्व हिन्दु महासंघले त्यति नै बेला भद्रकालीमा जम्मा भएर र्यालीसहित सिंहदरबारअगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल नाट्य प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठानको संयुक्त आयोजनामा प्रज्ञा भवनबाट कलश तथा झाँकी पदयात्रासहित सिंहदरबारस्थित शाहको शालिकमा माल्यार्पण गर्दैछ ।

उता विवेकशील साझा पार्टीले सोही अवसरमा पार्टी कार्यलय बखुण्डोलमा दिउँसो ३ बजे कार्यक्रम राखेको छ । वीर गोर्खालीले धुमबाराही पिपलबोटदेखि सिंहदरबार अगाडिसम्म र्याली निकालेर शालिकमा माल्यार्पण गर्ने बताएको छ ।

आजै पृथ्वी जयन्तीको विरोधमा पनि कार्यक्रम तय गरिएको छ । जसमा १२ औं नेवा एकता दिवसको अवसरमा नेवा एकता दिवससहित गोर्खा राज्य विस्तारविरुद्धको कार्यक्रम हुँदैछ । विरोध प्रदर्शन बिहान साढे ११ बजे कीर्तिपुर नगरपालिकाको नयाँ बजारबाट पाँगाको लाछिसम्म पुगेर कोणसभामा परिणत हुनेछ ।

त्यसैगरी प्रतिरोध जनअधिकार आन्दोलनको आयोजनामा कीर्तिपुरमै आज दिउँसो साढे २ बजे प्रतिरोध साँस्कृतिक यात्रा २०७८ राखिएको छ । आदिबासी जनजाति सम्बद्ध संघ संगठनहरुको आयोजनामा पुस २७ गतेलाई का’लो दिनको रुपमा मनाउँदै कीर्तिपुर १० मंगल स्कुल पछाडि छ्याकल ढुंगामा थुक्ने कार्यक्रम राखिएको छ । Taja Khabar