सलमान भन्दा नि उदीपजी ह्याण्डसम : आँचल शर्मा

रामेछाप खबर संवाददाता

२७ पुस, काठमाडौं ।

नेपाली फिल्म नगरीमा नायिका आँचल शर्माको निकै चर्चा हुनेगर्छ । आँचल शर्माले विवाह गरेलगत्तै दिएको एक अन्तरवार्तामा आफ्ना श्रीमान् उदीप श्रेष्ठको तुलना बलिउड अभिनेता सलमान खानसँग गरिन् । आफूलाई उदीप सलमान खान जस्तो लाग्ने बताएपछि उनको चर्चा निकै चुलियो ।

अन्तरवार्ता दिएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि दर्शकले उदीपलाई सलमानसँग तुलना गर्दै ट्रोल गर्न छाडेका छैनन् । तर, आँचल भने उदीपको तुलना सलमानसँग हुँदा आफूलाई गर्व लाग्ने बताउँछिन् । उनले भनिन्- ‘मलाई कुनै बेलामा सलमान खान खुबै मन पर्थ्यो । सलमान उभिँदा मात्र पनि अर्कै माहोल बन्थ्यो । म सलमानको फ्यान थिएँ ।’

उनले आफूलाई सलमान भन्दा पनि आफ्ना श्रीमान् उदीप बढी ह्याण्डसम लाग्ने बताइन् । ‘सलमान खान जस्तो विश्वले मन पराएको मानिससँग तुलना हुँदा त म खुशी छु । नराम्रो मानिससँग तुलना भएको भए पो तनाव हुनु होइन र ?’ उनले भनिन् । अर्को प्रसंगमा आँचलले आफू अहिले नै आमा बन्ने विषयमा कुनै सोच नरहेको बताइन् । तरपनि उनी अामा बन्न लागेको भनेर हल्ला भने चलिरहेका छन् ।