‘मेरो पेशालाई बुझ्ने र सम्मान गर्ने युवकको खोजीमा छु : अभिनेत्री वर्षा सिवाकोटी

रामेछाप खबर संवाददाता

२६ पुस, काठमाडौं ।

फाइल तस्वीर
अभिनेत्री वर्षा सिवाकोटी प्रेम सम्बन्धका कारण पनि चर्चामा आइरहन्छिन् । पछिल्लो समय उनी कलाकार राज कटुवालसँगको प्रेम सम्बन्धको खबरका कारण चर्चामा छिन् । तर, अहिले उनीहरुको ‘ब्रेकअप’ भएको खबर चलचित्रवृत्तमा चर्चामा छ ।

यसैबीच, अभिनेत्री वर्षा सिवाकोटीले बारम्बार प्रेममा असफल नायिका भनेर आफूलाई भनेकी छन् । यद्यपि, उनले राजसँगको प्रेम सम्बन्धलाई भने अस्वीकार गरेकी छन् ।

वर्षाले अनलाइनखबरसँग कुरा गर्दै भनिन्, ‘कोहीसँग नजिक हुँदैमा, कसैसँग हिँड्दैमा प्रेम नै हुन्छ भनेर बुझ्नु गलत हो । मैले प्रेम कहिले स्वीकार गरेको थिएँ र ब्रेकअपको कुरा आउँछ त ?’

राज र वर्षाको प्रेम सम्बन्धको चर्चा गत वर्षको होलीबाट शुरु भएको हो । होलीमा एकसाथ रमाएको देखिएपछि राज र वर्षाबीचको प्रेम सम्बन्धको खबरले मिडियामा उच्च स्थान पायो ।

यसपछि यो जोडीले केही म्युजिक भिडियोमा पनि काम गर्‍यो । प्रेममा रहेको करिब १० महिनापछि राज र वर्षाको सम्बन्धमा खटपट आएको खबर सार्वजनिक भइरहेको छ ।

तर वर्षाले भने राजसँगको प्रेम सम्बन्धलाई अस्वीकार गर्दै आफू मन मिल्ने जीवनसाथीको खोजीमा रहेको बताइन् । उनले अगाडि भनिन्, ‘मेरो पेशालाई बुझ्ने र सम्मान गर्ने युवकको खोजीमा छु । तर, विवाह भनेको आफूले सोचेर हुने कुरा होइन ।’

वर्षाले कुनै पनि विषयमा आफूसँग एक शब्द नसोधी आएका खबरहरुको पछि नलाग्न समेत आग्रह गरिन् । उनले भनिन्, ‘जुन दिन मेरो बिहेको कार्ड छापिन्छ, त्यही दिन नै खबर पक्का हुन्छ । अरु, हल्लाको पछि नलाग्नुहोला ।’ अनलाइनखबर