अब फिल्म हेर्न पनि कोरोनाको खोप कार्ड चाहिने

रामेछाप खबर संवाददाता

२६ पुस, काठमाडौं ।

अब फिल्म हेर्नका लागि पनि कोरोनाको खोप कार्ड चाहिने भएको छ । आइतबार बसेको कोभिड–१९ व्यवस्थापन समितिको बैठकले आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाको खोप कार्ड अनिवार्य गरेसँगै फिल्म हेर्न पनि कोरोना खोप कार्ड चाहिने भएको हो ।

नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले फिल्म हेर्न आउने दर्शकले अनिबार्य कोरोनाको खोप कार्ड देखाउनुपर्ने बताए । ‘कोभिड १९ व्यवस्थापन समितिको बैठकले गरेको निर्णय फिल्म हलमा पनि लागु हुनेछ,’ शर्माले भने ‘त्यो सबैको सुरक्षाका लागि हो ।

त्यसको अलवा हल हामी हलमा प्रत्येक शोमा स्यानिटाइज समेत गर्नेछौँ ।’ शर्माले कोभिड १९ व्यवस्थापन समितिसँग आफ्नो छलफल समेत भइरहेको र फिल्म हल अहिले बन्द नहुने सुनाए । बैठकले सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा अनिवार्यरुपमा कोभिड भ्याक्सिन लगाएको खोप कार्ड देखाउनुपर्ने निर्णय गरेको छ । त्यस्तो कार्ड मोबाइलमा खिचेर देखाए पनि हुनेछ ।

भृकुटीमण्डपका व्यवसायीको बचत नौ करोड

भृकुटीमण्डपका व्यवसायीले बचत गर्न स्थापित गरेको भृकुटीमण्डप बचत तथा ऋण सहकारी संस्थाको कोषमा रु नौ करोड २७ लाख ९५ हजार ५२ जम्मा भएको छ ।

सहकारीको वार्षिक साधारणसभाका अवसरमा शेयर सदस्य ७१३ जना पुगेको जानकारी गराइएको छ । यसैगरी शेयर पुँजी रु तीन करोड २१ लाख ९२ हजार १०० पुगेको अध्यक्ष लालबहादुर पाण्डेको प्रतिवेदनमा उल्लेख छ । तीस सदस्यबाट सहकारीको २०६७ वैशाख ८ गते सुरुआत गरिएको थियो । भृकुटीमण्डप खुला बजारका करिब ६० प्रतिशतभन्दा बढी व्यवसायी सहकारीका सदस्य छन् ।

साधारणसभाको उद्घाटन गर्दै काठमाडौँ बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडका अध्यक्ष दीपक पनेरुले शेयरको तुलनामा १५ गुणा बढी बचत हुनुपर्ने कानूनी व्यवस्था पालना गर्न अनुरोध गर्नुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं २८ का अध्यक्ष भाइराम खड्गीले शेयर सदस्य, शेयर पुँजी एवं बचतसमेत वृद्धि गर्न सुझाव दिनुभयो । समाजकल्याण परिषद्का नाममा रहेको भृकुटीमण्डप बजारमा करिब एक हजार ३०० पसल सञ्चालनमा छन् ।