कोरोना संक्रमण बढेसंगै उपत्यकाभित्रका सिडिओले यस्तो कदम चाल्दै

रामेछाप खबर संवाददाता

२५ पुस, काठमाडौं ।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य सम्बन्धी थप सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ। भिडभाड हुने स्थानहरूमा थप कडाइ गर्ने काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले तयारी गरेका छन्।

सिसीएमसी र स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार आफूहरू अगाडि बढ्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए। ‘स्वास्थ्य मन्त्रालयको प्राविधिक मार्गदर्शन र सिसीएमसीको निर्देशनअनुसार हामी अगाडि बढ्छौं। कोरोना संक्रमण पछिल्लो समय बढेको छ,’ उनले भने, ‘जनस्तरमा स्वास्थ्य सम्बन्धी मापदण्डको पालना भएको देखिन्न।’

उनले कोरोनाविरूद्ध खोप अभियानलाई तीव्रता दिने, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउने र भिडभाड हुने ठाउँ नियन्त्रण गर्ने उनले बताए।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कोरोना संक्रमणको अवस्थाबारे एक/दुई दिनमा उपत्यकाभित्रका सिडिओहरू बैठक गर्ने बताए।

टिपरको ठक्करबाट मृत्यु
काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ ।गएराति बा४ख ६८४३ ले नम्बरको टिपरले बा२ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार हाल ललितपुर बस्दै आउनुभएका बझाङ फलराका २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उहाँ मोटरसाइकलको पछाडि सवार हुनुहुन्थ्यो।

ठक्करबाट सख्त घाइते उहाँको कलङ्कीस्थित शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते मोटरसाइकल चालक ललितपुर धोवीघाट बस्ने बझाङ चैनपुरका २६ वर्षीय निखिल बमको सोही अस्पतालमा उपचार पछि थप उपचारका लागि सुन्धारास्थित भ्याली अस्पताल ल्याइएको छ । टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता ललितपुर महानगरपालिका–४ जवलाखेलस्थित सडक पेटीमा एक पुरुष आज मृत फेला परेका छन् । अन्दाजी ४०÷४५ वर्षको देखिने मृतकको पहिचान खुलेको छैन । उक्त घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।