बार्सिलोनाले गुमायो शीर्ष चारमा उक्लने मौका

रामेछाप खबर संवाददाता

२५ पुस, काठमाडौं ।

दश खेलाडीमा सीमित बनेको बार्सिलोनाले अन्तिम मिनेटमा गोल खाएपछि शनिबार राति स्पेनिस ला लिगामा ग्रानडाविरुद्ध १–१ को बराबरी खेलेको छ । बार्सिलोनाले ५७औं मिनेटमा लुक डी योङको गोलबाट अग्रता लिएको थियो । डी योङले ड्यानी आल्भेसको पासमा हेडमार्फत गोल गरेका गरेका थिए । बार्सिलोना फर्किएपछि ला लिगामा ३८ वर्षे आल्भेसको यो पहिलो खेल हो । आल्भेसले २००८ देखी २०१६ सम्म बार्सिलोनामा विताउँदा २३ उपाधि जितेका थिए । उनले बार्सिलोनामा दोस्र्रो कार्यकाल कोपा डेल रेमा लिनर्सविरुद्धको खेलबाट गरेका थिए ।

७९औं मिनेटमा पाब्लो गाभीले दोस्रो पहेंलो कार्डको सामना गरेपछि बार्सिलोना दश खेलाडीमा सीमित बनेको थियो । गाभीले २२औं मिनेटमा पहिलो पहेंलो कार्डको सामना गरेका थिए । खेल सकिन एक मिनेट बाँकी हुँदा एन्टोनियो पुएर्टासले गोल गरेपछि ग्रानडाले बार्सिलोनासँग एक अंक खोसेको थियो ।

बराबरीपछि २० खेलबाट ३२ अंक जोडेको बार्सिलोना छैटौं स्थानमा छ । बराबरीपछि बार्सिलोनाले शीर्ष चारमा उक्लने मौका गुमाएको छ । रियाल सोसिडाड ३३ अंकका साथ चौथो स्थानमा छ । एक खेल कम खेल्दै ३२ अंक जोडेको एट्लेटिको मड्रिड पाँचौं स्थानमा छ । ग्रानडा २४ अंकका साथ १२औं स्थानमा छ ।

‘‘हामी धेरै निराश छौं । किनकी हामीले एकदमै महत्वपूर्ण दुई अंक गुमाएका छौं,’’ बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले भने, ‘‘रातो कार्डपछि खेल परिवर्तन भयो । तर, त्यसअघि नै हामीले धेरै गल्ति गरेका थियौं । हामीले धेरै बल गुमाएका थियौं । सम्भवत हाम्रो युवा खेलाडीमा अनुभवको कमी भएर हुनसक्छ ।’’

बार्सिलोना अब स्पेनिस सुपर कपको सेमिफाइनल खेल्न साउदी अरेबिया जानेछ । बार्सिलोनाले चीर प्रतिद्वन्द्वी रियाल मड्रिडविरुद्ध खेल्नेछ । अर्को सेमिफाइनलमा एट्लेटिकोले एथलेटिक बिल्बाओविरुद्ध खेल्नेछ ।

रियालले गएराति नै भ्यालेन्सियालाई ४–१ ले हराएको थियो । गएराति सम्पन्न ला लिगाको अन्य खेलमा चौथो स्थानको रियाल सोसिडाडले १३औं स्थानको सेल्टा भिगोमाथि १–० को विजय हासिल गर्यो । त्यस्तै पुछारको टोली लेभान्टेले १५औं स्थानको मायोर्कालाई २–० ले हरायो ।