देशलाई सम्हाल्न अब सकारात्मक सोच भएका तन्नेरीहरु चाहिन्छ : गगन थापा

रामेछाप खबर संवाददाता

२४ पुस, काठमाडौं ।

फाइल तस्बिर
सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताउनु भएको छ ।

महामन्त्री थापाले देशमा धेरै कुराहरु बिग्रेको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढ्न सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताउनु भएको हो । विनायक सिद्धी कलेजले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले तन्नेरीहरु जोशिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताउनु भयो । महामन्त्री थापाले नेपाललाई योभन्दा धेरैमाथि पुर्याउने संकल्पसहित आफूले अवको १०/१५ वर्षमात्रै सक्रिय राजनीति गर्न चाहेको पनि दोहोर्याउनु भयो ।

उहाँले बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनुपर्नेमा पनि जोड दिनु भयो ।

‘म अब १०/१५ वर्षमात्रै नेपालको राजनीतिमा क्रियाशील रहन्छु । त्यसपछि विश्राम लिन्छु भन्ने मेरो संकल्प छ । मैले विश्राम लिँदै गर्दा नेपाल योभन्दा धेरैमाथि पुगेको हुनेछ भन्ने कुरामा मेरो विश्वास छ’ महामन्त्री थापाले भन्नु भयो, ‘यसका लागि जम्मा एउटा कुरा चाहिएको छ, सकारात्मक सोच्ने तन्नेरीहरु । हाम्रा तन्नेरीहरुसँग जोश छ । जोश सँगसँगै उनीहरुको चिन्तन अब सकारात्मक चाहिएको छ । हामीलाई ‘प्रब्लम’ देखाउने मानिस होइन, सोलुशन खोज्ने मानिस चाहिएको छ ।’

एमाले दाङको अध्यक्षमा बस्नेत सर्वसम्मत चयन

नेकपा (एमाले) दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत सर्वसम्मतमा निर्वाचित हुनुभएको छ । एमालेको १३औँ जिल्ला अधिवेशनले अध्यक्षमा बस्नेतसहित १२१ सदस्यीय जिल्ला कार्यसमिति पनि निर्विरोध निर्वाचित गरेको छ ।

जिल्ला अधिवेशनको बन्द सत्रले सर्वसम्मतिमा आगामी तीनवर्षे कार्यकालका लागि पदाधिकारी चयन गरिएको एमाले दाङले जनाएको छ । उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिवमा कृष्ण भुसाल र हिरादेवी पुनः निर्वाचित हुनुभएको छ । सचिव बुढाथोकी र उपसचिव भुसालबाहेक अन्य पदमा नयाँ अनुहार आएको बताइएको छ । दाङका १० वटै पालिकाबाट भुगोलका आधारमा ५६ सदस्य पदमा नेतृत्व चयन गरिएको छ ।

समावेशी क्षेत्रका आधारमा दलित, थारु, मधेशी, आदिवासी जनजाति, मुस्लिम, अपाङ्गता, महिला, पिछडिएको वर्ग अल्पसङ्ख्यकबाट ३० सदस्य पदमा, खुला सदस्यमा सबै पालिकाबाट समेटिने गरी १९ र सदस्यतर्फ नै खुला क्षेत्र महिलामा ११ गरी जिल्ला कार्यसमिति निर्वाचित गरिएको एमाले जिल्ला सचिव बुढाथोकीले जानकारी दिनुभयो ।

कूल १३१ सदस्यीय जिल्ला कार्यसमिति रहने एमाले दाङमा बाँकी १० जनापछि मनोनित गरिने भएको छ । नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत दामोदर बस्नेतले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ ।