नेपालमा फेरी बढे कोरोना संक्रमित, आज कति थपिए ?

रामेछाप खबर संवाददाता

२४ पुस, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ९४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

यस्तै, सोही अवधिमा २९७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मृत्यु भने कसैको पनि भएको छैन । मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३१ हजार ७४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९७ हजार ८९ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ लाख १८ हजार ६ जना निको हुँदा कुल ११ हजार ६०२ जनाको मृत्यु भएको छ। हाल देशभर ६ हजार १४० जना सक्रिय संक्रमित रहेका छन् ।

उठाइयो जम्बोडाँडामा लुकिछिपी थुपारिएको फोहर, कारवाही गरिने

गोकर्णेश्वर नगरपालिका– ५ स्थित वाग्मती नदी किनारको जम्बोडाँडा क्षेत्रमा लुकिछिपी फालिएको फोहरको थुप्रो सफा गरिएको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ४१९औँ हप्तामा त्यस क्षेत्रमा सफा गरी नदी किनारमा थुपारिएको तीन गाडी फोहर व्यवस्थापन गरिएको हो ।

वाग्मती सुन्दरता सरकोर मञ्चको आयोजनामा भएको सफाइमा त्यस क्षेत्रका विभिन्न टोल सुधार समितिका पदाधिकारी एवं सदस्यलगायत स्थानीयवासीको सहभागिता थियो । जम्बोडाँडा क्षेत्रमा लुकिछिपी फालिएको फोहर यसपटकसमेत गरी मञ्चको नेतृत्वमा १२औँ पटक सफा गरिएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

सफाइका क्रममा ९५ प्रतिशत कुहिने फोहर लुकिछिपी फालिएको भेटिएको थियो । पाँच प्रतिशतमात्र नकुहिने फोहर पाइएको जनाइएको छ । फोहरलाई घरमै वर्गीकरण गरे कौसीखेतीमा उपयोग गर्न सकिने भए पनि चेतनाको अभावमा सडक र नदी किनारमा फालेर दुर्गन्धित बनाइएको छ । नदी किनारमा प्लाष्टिक बालेर वायु प्रदूषण बनाउने क्रम बढ्न थालेको छ । फोहर फाल्नेलाई समातेर कानूनी कारबाही गर्ने अधिकार नगरपालिका र प्रहरीलाई भए पनि अहिलेसम्म कार्यान्वयन नगर्दा सडक, नदी किनारलगायत सार्वजनिकस्थलमा फोहरको थुप्रो बढ्दै आएको छ ।

आजको सफाइपछि जम्बोडाँडा क्षेत्रमा वडाले सिसिटिभी क्यामेरा जडान गर्ने तयारी गरेको जानकारी पनि दिइएको छ । सिसीटिभीसँगै प्रहरी र नगर प्रहरीसमेत राखेर लुकिछिपी फोहर फाल्नेलाई समातेर कानूनी कारबाही गर्ने तयारी गरिएको पनि त्यहाँका वडाध्यक्ष नारायणबहादुरसुवेदीले बताउनुभयो ।