किन सर्‍यो माओवादी केन्द्रीय समिति बैठक ?

रामेछाप खबर संवाददाता

२३ पुस, काठमाडौं ।

पुस २५ का लागि तोकिएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालयका केही कर्मचारी र केन्द्रीय सदस्यहरूलाई कोरोना संक्रमण भएपछि माघ ८ गतेसम्मलाई बैठक स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्नो निवासमा हुने प्रत्यक्ष भेटघाट बन्द गरेका छन् । केन्द्रीय समिति बैठक स्थगित भएसँगै पदाधिकारी चयन प्रक्रिया पनि लम्बिएको छ ।

संसद् बैठक सञ्चालन गराउन पहल गर्ने सत्तारूढ संयन्त्रको निर्णय

सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रले संसद् बैठक नियमित सञ्चालनका लागि पहल गर्ने निर्णय गरेको छ ।
शुक्रबार प्रधानमन्त्रीको निवास बालुवाटार संयन्त्रको बैठकले संसद् लामो समय अवरुद्ध हुनु उचित नभएको भन्दै सञ्चालन गराउन पहल गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै, बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका उमेदवारहरूलाई जिताउन सातवटै प्रदेशमा गठन गरिएको संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय भएको उनले बताए । राष्ट्रियसभाको निर्वाचनमा केन्द्रित भएर बैठकमा छलफल भएको कार्कीले जानकारी दिए ।

पाँचदलीय सत्ता गठबन्धनबीच राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँड भइसकेको छ । गठबन्धनभित्र नेपाली कांग्रेसलाई ६, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई पाँच/पाँच, जनता समाजवादी पार्टी (जसपा)लाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्ट्याउँदै उमेदवारी दिइएको छ ।

राष्ट्रियसभाका रिक्त हुन लागेका १९ सदस्यका लागि आउँदो माघ १२ गते निर्वाचन हुँदै छ ।