राजाको कम्पनीको जागिर छोडेर भैँसीपालनमा रमाएका राउत, यस्तो छ उनको भैँसीपालन गर्ने तरिका !

रामेछाप खबर संवाददाता

२२ पुस, काठमाडौं ।

काभ्रेको पनौती नगरपालिका– ८, मल्पीका सन्तोषकुमार राउत तीन वर्षदेखि भैँसीपालन कर्ममा छन् । राउत वैदेशिक रोजगारीबाट फर्किएर भैँसी पालनतिर लागेका हुन् ।

उनी यूएईका राजाको ‘अलहामल इन्टरनेसल कम्पनी’मा सुरक्षागार्डको रोजगारी गरेर स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएलगत्तै उनले टिपर व्यवसाय गर्थे । टिपर व्यवसाय गर्दागर्दै पछि ‘विन्ध्यवासिनी पशु फार्म’ दर्ता गरेर भैँसीपालन सुरु गरेको उनले बताए ।

अहिले उनको फार्ममा आठवटा मुरा र लिने जातका भैँसी छन् । केही महिनाअघिसम्म उनको फार्ममा १८ वटा भैँसी थिए । गोठमा आगलागी हुँदा माउपाडा गरी १० वटा भैँसी जलेर मरे । राउतले भैँसीपालनका लागि करिब ८० लाख रुपैयाँ लगानी गरेका छन् ।

एउटा भैँसीबाट दैनिक १२ लिटरसम्म दूध उत्पादन हुन्छ । दैनिक ७ हजार रुपैयाँको दूध बजारमा बिक्री गर्दै आएको राउतले बताए । उनले भने, ‘नेपालीले गर्नुपर्ने कृषि हो । हाम्रो कर्म नै कृषिमा छ । म पनि कृषिमा केही गर्नुपर्छ भनेर टिपर व्यवसाय र वैदेशिक रोजगारी छाडेर लागेको छु । कृषि पेसामा लागेका व्यक्तिले आफैँ काम गर्नुपर्छ । काम सानो–ठूलो हुँदैन । लगानी गर्ने व्यक्ति नै खटिएपछि सफल भइन्छ । म पनि यही सोच र योजना बनाएर कृषिमा आएको हुँ ।’

उनले थपे, ‘खाडीका देशहरूले कृषिका लागि बालुवालाई माटो बनाइरहेका छन् । हाम्रो देशमा त कृषि कर्म गर्न हावापानीले पनि साथ दिएको छ । कडा परिश्रम गर्नुपर्छ । सफल नै भइन्छ ।’

कृषि पेसामा आजको भोलि कमाइ हुँदैन । लगानीको प्रतिफल पाउन केही समय कुर्नुपर्ने उनको बुझाइ छ । अहिले बजारमा एउटा भैँसीको मूल्य २ लाख ५० हजारभन्दा माथि पर्छ । भैँसीपालनमा धेरै मिहिनेत गर्नुपर्ने उनी बताउँछन् ।

भैँसीलाई अरु जनवारभन्दा धेरै घाँस, खोले र स्याहार–सुसार गर्नुपर्छ । २०७७ सालमा गोठमा आगो लाग्दा उनको फार्ममा रहेका १० वटा माउ–पाडा भैँसी जलेर मेरे । फार्ममा आगलागी हुँदा करिब ३५ लाख रुपैयाँ घाटा ब्येहोर्नुपरेको राउतले सुनाए ।

त्यो घटना हुँदा पनौती नगरपालिकाले प्रतिभैँसी १० हजार रुपैयाँ सहयोग गरेको राउतले जानकारी दिए । सानो भए पनि स्थानीय तहले कृषिमा क्षति हुँदा सहयोग गरेकाले आफू आभारी भएको र अन्य कृषकको पनि यो पेसाप्रति आत्मबल बढेको उनको बुझाइ छ ।

गोठमा आगो लागेपछि झन् भैँसीपालनतिर जाँगर चलेको उनले बताए । ‘फार्ममा आगो लागेको बेला भैँसी पाल्न नसकेर आफैँले फार्ममा आगो लगायो पनि भने गाउँलेले । तर, मैलै जति घाटा भए पनि टिपर बेचेर भैँसीपालनलाई निरन्तरता दिएँ,’ उनले भने, ‘कृषि पनि बैंकजस्तै हो । आर्थिक कारोबार दैनिक हुन्छ । कृषि पेसामा रोजगारी र पैसा दुवै छ । तर, नेपालमा कृषि पेसा सुरक्षित छैन । यो एउटा समस्या हो ।’

चार जनाको परिवार भैँसी फार्मको आयस्रोतले नै चलिरहेको र दुई जनालाई फार्ममा रोजगारीसमेत दिएको राउतले जानकारी दिए । कृषि पेसामा खटियो भने वैदेशिक रोजगारीमा जति नेपालमै कमाइन्छ भनेरै यो पेसातिर लागेको उनको भनाइ छ । भविष्यमा गाई–भैँसीको मल उत्पादन गरेर रासायनिक मलको विस्थापन गर्ने योजना पनि रहेको उनले सुनाए ।

आफ्नो देशमा दैनिक उत्पादन हुने प्राङ्गारिक मल हुँदाहुँदै विदेशीबाट रासायनिक मल आयात गरेर माटोसँगै उत्पादनमा समेत प्रभाव परिरहेको राउत बताउँछन् ।

सरकारले कृषिमा लगानी गरिरहेको छ । त्यसको फाइदा राज्य र कृषक दुवैले लिन नपाएको उनी बताउँछन् । सरकारले अनुदानका लागि खर्च गर्ने बजेट कृषि सामग्री बिक्री केन्द्र, शीतभण्डार र बजार प्रवर्द्धनमा लगानी गर्नुपर्ने उनको सुझाव छ ।

नेपालमा वार्षिक कुल १८ लाख मेट्रिकटन दूध भैँसीबाट उत्पादन हुने गरेको छ । यो कुल दूध उत्पादनको ७० प्रतिशत हिस्सा रहेको पशु विभागको तथ्यांक छ । भैँसीको मासु मात्रै ४ लाख मेट्रिकटन नेपालमै उत्पादन भएर खपत हुने गरेको कृषि मन्त्रालयले जनाएको छ । नेपालमा मुर्रा, लिमे, अर्ना, पारकोटे, निलिभरभी जातका भैँसी पालिन्छ । शिलापत्र