नेपालमा फेरि फैलिँदै कोरोना, आज थपिए यति संक्रमित

रामेछाप खबर संवाददाता

२१ पुस, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा दुई महिना यताकै धेरै कोरोना भाइरस (कोभिड-१९) का संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ल्यावहरुमा गरिएको परीक्षणमा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जुन २ महिना यताकै धेरै संख्या हो।

यसअघि गत कार्त्तिक २३ गते ४४३ जनामा कोरोना संक्रमण पुष्टि भएको भने मंसिर १ गते ४१२ जनामा संक्रमण पुष्टि भएको थियो। बुधबार कोरोना संक्रमितको संख्या ४ सय बढी नाघ्यो।

यसअघि मंगलबार देशभर ३९३ जनामा कोरोना संक्रमण देखिएको थियो भने सोमबार ३२६ र आइतबार २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार पछल्लो २४ घण्टामा १० हजार २६७ पीसीआर परीक्षण गर्दा ३७० र ३५५२ एन्टीजेन नमुना परीक्षण गर्दा ६५ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राले बुधबार कोरोना प्रेस ब्रिफिङमा हाल नेपालमा कोरोना संक्रमणको दर संक्रमण दर ३.८ प्रतिशत रहेको र पछिल्लो हप्ताभन्दा ०.९ प्रतिशतले बढेको बताइन्।

प्रदेशमा परीक्षणहरु कम भइरहेको र यसलाई बढाउनुपर्ने डा मिश्राले बताइन्। उनले भनिन्–‘परीक्षणको दायरामा ल्याइ सबै जनसंख्यालाई निगरानीको दायरामा ल्याउँदा यसले संक्रामणको चक्र तोड्न मद्दत गर्छ। कन्ट्याक्ट ट्रेसिङ, सम्पर्कमा आएकाको व्यक्तिको परीक्षण, नाकामा परीक्षण, समुदायमा परीक्षण लगायतको काम बढाइरहेको छौं ।’

प्रेस ब्रिफिङमा प्रवक्ता मिश्राले सम्भावित तेस्रो लहरसँग जुध्न मन्त्रालयले तयारी सुरु गरेको समेत बताइन्। ओमिक्रोन भित्रिन नदिन मन्त्रालले सीमा नाकामा गरिएको एन्टीजीन परीक्षणलाई तिव्र पारेको छ।

मन्त्रालयका अनुसार १९ गते सोमबार ५ जनामा संक्रमण भेटिएको थियो। २० गते मंगलबार उक्त संख्या बढेर ३८ मा पुगेको थियो। पछिल्लो २४ घण्टामा उक्त संख्या बढेर ४७ पुगेको छ।

अहिलेसम्म नेपालमा ओमिक्रोनका ३ वटा केस पुष्टि भएका छन्। ओमिक्रोन पत्ता लगाउन मन्त्रालयले जिन सिक्वेन्सिङको काम गरिरहेको समेत प्रवक्ता मिश्राले बताइन्।

मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १८ हजार ३५ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार २२३ जना पुगेको छ।
स्वास्थ्यखबर