मलेसियामा नेपालीलाई एउटा बस्ती नै उपहार, नाम राखियो ‘गोर्खाबस्ती’ !

रामेछाप खबर संवाददाता

२१ पुस, काठमाडौं ।

सन् १२६० मा अरनिको तिब्बत गएपछि नेपाली कामदार वैदेशिक रोजगारीमा जान सुरु गरेको इतिहास रहेको संस्कृतिविद सत्यमोहन जोशीको पुस्तक ‘कलाकार अरनिको’ मा उल्लेख छ । चीनको तिब्बतमा करीब साढे ७ सय वर्ष पहिला अरनिकोको नेतृत्वमा ८० जना मुर्तिकारहरु गएदेखि नेपालीहरु रोजगारका लागि विभिन्न मुलुकमा पुग्ने चलनको शुरुवात भएको मानिन्छ ।

त्यसयता नेपाली रोजगारीको खोजीमा भारत हुँदै तेस्रो देश जाने क्रम बढ्दै गएको हो । हाल भारतसहित करिब ५० लाखभन्दा धेरै नेपाली वैदेशिक रोजगारीअन्तर्गत विभिन्न देशमा कार्यरत छन् । सन् १८७५ देखि नेपालीहरू मलेसिया जान थालेको बारे देवेन्द्र सुर्केलीले लेखेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपाली युवाको प्रमुख रोजगार गन्तव्य देशभित्र मलेसिया पनि पर्छ । हाल करिब ८ लाख नेपाली रोजगारीका लागि मलेसिया पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ ।

मलेसियाका प्रायजसो सबै शहरमा नेपाली नागरिक रोजगारीका लागि पुगेका छन् । मलेसियामा काम गर्ने नेपालीलाई रोजगारदाता कम्पनीले ‘गोर्खे’ नामबाट चिन्ने गरेका छन् । सुर्केलीका अनुसार सन् १९२० तिर नेपाली कामदार मलेसियाको सुनखानीमा काम गर्ने पुगेका थिए । भारतको बाटो हुँदै पानी जहाजमार्फत करिब ५ सय नेपाली एक बेलायतीले सञ्चालनमा गरेको सुनखानीमा काम गर्न मलेसिया पुगेका जनाइएको छ । तत्काल सुनखानी सुचारु नभएपनि नेपाली कामदार मलेसियामै घरजम गरेर बस्न थालेको सुर्केलीले सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

मलेसिया सरकारले रोजगारीका लागि गएका नेपाली युवालाई बस्नका लागि गोर्खा काम्पोङ (गाउँ) नै दिएको थियो । तर, गोर्खा काम्पोङमा नेपालीहरूले घर बनाएर बस्न नसकेपछि उक्त जग्गा त्यहाँ स्थानीय पेराक राज्यको सरकारले निन्त्रणमा लिएको सुर्केली बताउँछन् । यो ठाउँ ‘गोर्खाबस्ती’को नामबाट परिचित छ । बेलायती साम्राज्यको अधिनमा मलेसियाको पेराक राज्यमा स्थानीय फौज विरुद्धको लडाइँका लागि गोर्खालीले पहिलो पटक मलेसिया टेकेको सुर्केलीको अध्ययनमा उल्लेख गरिएको छ । नेपालीलाई मलेसिया सरकारले गोर्खाबस्ती उपहार र गोर्खे नाम परिचयको रुपमा दिएको छ ।

‘नेपालीहरुले त्यसबेला बेलायतलाई समर्थन गर्दै दोस्रो विश्वयुद्धमा सामेल भएका थिए । गोर्खाली फौज भने लडाँइपछि नेपाल फर्किएको थियो । विश्व युद्ध लड्न गएका धेरै नेपाली मलेसिया बसोबस गरेका रहेछन्’ उनले भने, ‘मलेसियामा नेपालीलाई ‘गोर्खाली’ र नेपाली बस्तीलाई ‘गोर्खा काम्पोङ’ भनेर चिनिइन्छ । नेपालीले मलेसियामा सुरक्षा गार्डका रूपमा काम गर्दै आएपछि मलेसियन नागरिकले नेपाली युवालाई ‘गोर्खाली गार्ड’भनेर रोजगारी दिँदै आएका छन् ।’
विश्वव्यापीकरण बढेसँगै नेपाली पनि कामको खोजीमा विभिन्न देशका साथै मलेसिया पनि जाने संख्या बढ्दै गएको छ । बिस्तारै मलेसियाले विदेशी कामदार पनि लिन क्रम बढेपछि नेपाली श्रमिक मलेसियाली नागरिकको रोजाइमा पर्ने थालेका थिए । नेपालीका विषयमा मलेसियाका नागरिक पहिलेदेखि नै जानकार रहेकाले नेपाली कामदार उनीहरुको रोजाइमा पर्दै आएका छन् ।

मलेसियाली रोजगारदाता कम्पनी तथा त्यहाँका नागरिकले नेपाली कामदारलाई सम्मान र विश्वास गर्ने गरेका एनआरएनए मलेसियाका महासचिव सुन्दर आलेको बुझाइ छ । मलेसिया नागरिकले नेपाली ‘सुरक्षा गार्ड’ पाए आफनो रक्षा हुने विश्वास गर्नेगरेको उनको भनाइ छ ।

३ हजार नेपालीसँग मलेसियाको नागरिकता

सन् १९२० मा सुनखानी र विश्व युद्ध लड्न गइ उत्तै बसेका करिब ३ हजार नेपालीले मलेसियाको नागरिकता पाएको अनुमान गरिएको छ । एनआरएन मलेसियाका पूर्वउपाध्यक्ष शंकर पौडेलका अनुसार ३ हजार नेपालीले मलेसियाली नागरिकता पाएका छन् । जो सन् १८ सय तिर नै मलेसिया आएका नेपालीहरु भएको उनको भनाइ छ । उनीहरुले मलेसियाका नागरिक सरह सुविधा र अधिकार पाएको पौडेलले बताए ।

मलेसियामा करिब ८ लाख नेपाली रोजगारीका कार्यरत छन् । त्यसमध्ये करिब २ लाख करार अवधि सकिएपनि रोजगारदाता कम्पनीको शरण लिएर काम गरेर बसीरहेका छन् ।

३५ प्रतिशत रेमिट्यान्स मलेसियाबाट

रोजगारीका लागि नेपालबाट मलेसिया पुगेका नेपाली कामदारबाट निकै ठूलो रकम रेमिट्यान्सका रुपमा भित्रने गरेको छ । मलेशियामा पसिना बगाएर कमाएको पैसा सुरुमा मानिसहरुले आफू आउँदा सँगै लिएर आउने चलन थियो । तर पछिल्लो समय बैंक तथा रेमिट्यान्सबाट रकम भित्रने गरेको छ । मलेसियाबाट मात्र वार्षिक ३५ प्रतिशत रेमिट्यान्स नेपाल भित्रने गरेको छ ।

अवैध बाटोमार्फत पनि मलेसियाबाट रकम नेपाल भित्रने गरेको छ । गएका १० वर्षमा मलेसियाबाट करिब १७ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको राष्ट्र बैकको तंथ्याकमा छ । मलेसियामा रोजगारीका लागि गएका नेपाली श्रमिकले त्यहाँबाट सीप लिएर नेपाल आउने र त्यहाँको भाषा, रहनसहन, काम गर्ने वातावरण बारे राम्रोसँग बुझेर आउने गरेका छन् । उनीहरुले नेपालमा त्यहाँ सिकेको सीपका आधारमा व्यवसायी पनि चलाइरहेका छन् ।

मलेसियामा धेरै नेपाली उद्योग व्यवसाय सञ्चालन गरे बसेका छन् । यसरी व्यापार व्यवसायी गरेर बसेका नेपालीहरुको नेपाल बिजनेस सोसाइटी अफ मलेसिया व्यवसायीको छुट्टै संगठन समेत गठन भएको छ । हाल मलेसिया ५२ वटाभन्दा धेरै नेपाल संघसंस्था रहेका छन् । यी सस्थाले नेपाली कामदारको हकहितका लागि काम गदै आएका छन् । रमेश भारती, खबरहब