दुखद खबर : मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा एकको मृत्यु

रामेछाप खबर संवाददाता

२१ पुस, काठमाडौं ।

ललितपुरमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, अर्का घाइते भएका छन्। प्रहरीका अनुसार मंगलबार राति १ बजेतिर कुपण्डोलमा सडकमा रहेको बिजुलीको पोलमा बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल ठोक्किएको हो।

दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका ९, छम्पी घर भई हाल मंगलबजार बस्ने ३१ वर्षीय राजु तामाङको मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकलका चालक मंगलबजारका ३६ वर्षीय दिपेश तामाङ घाइत भएका छन्। उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

शीतलहरबाट सप्तरीमा एकको मृत्यु

शीतलहरका कारण सोमबार बिहान एकजनाको मृत्यु भएको छ । महादेवा गाउँपालिका–४ का देवनारायण ठाकुरको शीतलहरका कारण मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष ममताकुमारी यादवले जानकारी दिइन् ।

राति खाना खाएर सुतेका ६५ वर्षीय ठाकुरको चिसोले मृत्यु भएको उनको भनाइ छ । बिहान अबेरसम्म ओछ्यानबाट नउठेपछि परिवारजनले सोधखोज गर्दा उनको मृत्यु भएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले ठाकुरको मृत्यु चिसोले भएको हो होइन भन्ने विषयमा बुझ्ने कार्य भइरहेको जानकारी दिए । एक सातायता बढ्दो शीतलहरले जिल्लाका विपन्न वर्गको जनजीवन कष्टकर हुन पुगेको छ । चिसोबाट सर्वसाधारणलाई जोगाउन स्थानीय सरकारले अझै ठोस पहल थालेका छैनन् ।