न्युजिल्याण्डमाथि बंगलादेशको ‘ऐतिहासिक’ जित

रामेछाप खबर संवाददाता

२१ पुस, काठमाडौं ।

न्युजिल्याण्डसँगको पहिलो टेष्ट क्रिकेट बंगलादेशले आठ विकेटले जितेको छ । न्युजिल्याण्डले दिएको ४० रनको सामान्य लक्ष्य बंगलादेशले २ विकेट गुमाएर भेटायो ।

पहिलो पारीमा बंगलादेशले चार सय ५८ रन बनाएपछि न्युजिल्याण्ड एक सय ३० रनले पछि परेको थियो । दोस्रो पारीमा पनि न्युजिल्याण्डले जम्मा एक सय ६९ रन मात्रै बनाउन सक्यो । उसका विल योङले ६९ रन बनाए । बंगलादेशका लागि इबदुत हसिनले ६ तथा तस्कीन अहमदले तीन विकेट लिए । दुई वटा टेष्टको श्रृङ्खला खेल्न बंगलादेश न्युजिल्याण्ड भ्रमणमा छ ।

घरेलु मैदानमा १७ खेलमा अपराजित रहेको विश्व टेष्ट च्याम्पियन न्युजिल्याण्डलाई हराएर बंगलादेशले ऐतिहासिक सफलता हात पारेको हो । बंगलादेशले टेष्ट क्रिकेटमा न्युजिल्याण्डलाई हराएको यो पहिलोपटक हो । यस्तै, बंगलादेशले न्युजिल्याण्डमा भएका कुनै पनि फर्म्याटका खेल अहिलेसम्म जित्न सकेको थिएन । यो नै न्युजिल्याण्डमा बंगलादेशको पहिलो जित हो ।

त्रिवेणी कपको उपाधिका लागि भगवती टोखा र वीवाईसी भोटेवडार भिड्द

लमजुङको सदरमुकाम बेंसीसहरमा जारी २९औँ त्रिवेणी कप प्रतियोगिताको उपाधिका लागि भगवती टोखा काठमाडौँ र बुद्ध युथ क्लब भोडेवडारबीच भिडन्त हुने भएको छ । त्रिवेणी रंगशालामा मंगलबारको पहिलो सेमिफाइनल खेलमा आयोजक त्रिवेणी युवा क्लवलाई शून्यका विरुद्ध तीन गोलले हराउदै श्री भगवती टोखा फाइनलमा प्रवेश गरेको हो ।

फाइनल खेल दिउँसो १ बजे हुने त्रिवेणी युवा क्लवका अध्यक्ष विनोद गुरुङले बताए । जिल्लाकै सर्वाधिक राशीको त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताका विजेताले ५ लाख , त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र पाउनेछन् । उपविजेताले ३ लाख, रजत पदक र प्रमाणपत्र पाउनेछन् ।

सेमिफाइनल पुगेका २ टिमलाई नगद ५०-५० हजार दिइने आयोजकले जनाएको छ । आयोजकका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई १५-१५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्रिवेणी युवा क्लवको आयोजनामा यहि १२ पुसबाट बेंसीशहरको सहजी खेलमैदानमा सुरु भएको राष्ट्रव्यापी २९औँ त्रिवेणी कप प्रतियोगितामा देशभरमा १८ टिमको सहभागिता रहेको थियो ।