दुखद खबर : किसान र गोठालाबीच झगडा हुँदा ४५ किसानको मृत्यु

रामेछाप खबर संवाददाता

७ पुस, काठमाडौं ।

नासारावः नाइजेरियाको मध्य राज्य नासारावमा किसान र गोठालाबीचको झगडाले उग्र रुप लिँदा कम्तीमा ४५ किसानको मृत्यु भएको छ। शुक्रबारदेखि सुरु भएको सो झडपमा कम्तीमा ४५ किसानको मृत्यु भएको हो।

नाइजेरियाका राष्ट्रपति मुहम्मादु बुहारीले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन्। सो झडपमा परी दर्जनौं मानिस गम्भीर घाइते भएको सो विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति बुहारीले सो घटना हृदयविदारक भएको बताउँदै मृतकप्रति शोक व्यक्त गरेका छन्। सो घटनाका दोषीलाई सरकारले कडा कारबाही गर्नेसमेत उनले बताएका छन्।

स्थानीय प्रहरीका अनुसार जातीय समूह फुलानी र टियभबीच शुक्रबारदेखि झगडा सुरु भएको थियो। सो समूहले एक-अर्को समूहका कृषक र गोठालाई दोषारोषण गर्दै सुरु भएको झगडाले आइतबारसम्म हिंसाको रुप लिएको थियो। अन्‍नपूर्ण पोष्ट

चोरीका मोटरसाइकल लुकाएर राख्ने पक्राउ

मोटरसाइकल चोरी गरी घरमा लुकाइराखेको अवस्थामा काठमाडौँको लामबगरबाट आज दुई जना पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले घरको पार्किङमा लुकाइ राखेको अवस्थामा प्रदेश ३–०२–०११ प ८०७३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा धादिङ खनियावास गाउँपालिका–३ घर भई हाल गैरीगाउँस्थित लामाबगर बस्ने वर्ष १९ का पारस तामाङ र धादिङ नेत्रावती घर भइ सोही ठाउँ बस्ने २२ वर्षीय वुद्धिबहादुर तामाङ रहेका छन् । पक्राउ भएको उक्त मोटरसाइकल मनमैजु घर कम्पाउण्डबाट गत मङ्सिरमा हराएको भनी काठमाडौँ तारकेश्वर नगरपालिका–८, मनमैजु बस्ने सुजिन्द्र लामाले हुलियासहितको निवेदन दिनुभएको थियो । सोही निवेदनको आधारमा महाशाखाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी चोरी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बालाजुमा पठाएको प्रवक्ता प्रहरी उपरीक्षक सञ्जिल शर्माले जानकरी दिनुभयो ।