‘म्यान भर्सेस वाइल्ड’ प्रस्तोता बेयर ग्रिल्सने अब जिउँदै जीवजन्तु नखाने

रामेछाप खबर संवाददाता

७ पुस, काठमाडौं ।

टेलिभिजन कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता बेयर ग्रिल्सले आगामी दिनमा जीव हत्या नगर्ने बताएका छन्। हालसालै एक अन्तर्वार्तामा उनले आफूले हालसम्म कार्यक्रममा जीवहरुको हत्या गरि खाएकोमा आफूलाई पश्चताप भएको र अब त्यस्तो नगर्ने बताएका छन्। अबका दिनहरुमा आफूले मरेका जनावर मात्रै खाने उनले बताए।

‘सर्वाइवल एक्सपर्ट’ ग्रिल्सले आफूले आगामी दिनमा मरेको जनावरको मात्र मासु खाने बताएका छन्। ‘इन्टु द वाइल्ड विद बेयर ग्रिल्स’मा व्यस्त उनले भनेका छन्, ‘मलाई लाग्छ, बाँच्ने र खाने नाममा मैले कार्यक्रमको सुरुवाती दिनमा थुप्रै सर्प, विच्छी, माकुरा र अन्य जनावरलाई मारेको थिएँ। अहिले म त्योभन्दा धेरै अघि आइसकेको छु। अहिले मलाई त्यो कुरामा निकै पश्चाताप लाग्छ।’

बेयरले आफ्नो सोच बदल्नेमा शाकाहारी मानिसहरुको प्रभाव रहेको बताएका छन्। उनले आफ्नो कार्यक्रममा पाहुनाको रुपमा आउने थुप्रै शाकाहारी पाहुनाहरुले सोच बदल्नमा भूमिका खेलेको बताएका छन्। उनले भने, ‘मैले कैयौं शाकाहारी स्टारहरुलाई जंगलमा लिएर गइसकेको छु। त्यो अनुभव निकै राम्रो थियो र म उहाँहरुको सदैव सम्मान पनि गर्छु।’