सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

रामेछाप खबर संवाददाता

७ पुस, काठमाडौं ।

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार ६०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार १०० तोकिएकोे छ यसको मूल्य मङ्गलबार प्रतितोला रु ९२ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १०ले बढेर रु एक हजार २४५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा आउने उतारचडावका आधारमा यहाँ दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ ।

उत्पादन बढाउन माटोको जाँच

तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिकाले उत्पादन बढाउन माटोको जाँच थालेको छ । सातवटै वडामा यही पुस ६ देखि १४ गतेसम्म शिविर सञ्चालन गरी उक्त अभियान सञ्चालन गरेको हो ।

जिल्ला कृषि शाखा प्रमुख श्रवणकुमार बुढाका अनुसार माटोको जाँच गराउन फलफूलका लागि तीन फिट गहिरो तथा अन्य बालीका लागि नौदेखि १२ फिट गहिरो खाडल खनेर ५०० ग्राम माटो निकाली शिविरमा जाँच गरिएको छ । उहाँले भन्नुभयो, “माटोको अवस्था पत्ता लगाई कृषकलाई सोहीअनुसारको सल्लाह दिइरहेका छौँ, सधैँ आयात गरेको अन्न र फलफूल मात्र खाएर हुँदैन, आफैँ पनि आत्मनिर्भर बन्नुपर्छ ।”

जाँचपछि माटोको अम्लीयपनबारे जानकारीसँगै सोहीअनुसारको जात सिफारिस गर्न सजिलो हुने बुढाको भनाइ छ । मुड्केचुलामा स्याउ, ओखर, अमिलोलगायतका फलफूल बढी उत्पादन हुन्छ । वर्षेनी घट्दै गएको उत्पादनलाई माटो जाँच गरी बढाएर नतिजामुखी बनाउनका लागि सो अभियान थालिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताउनुभयो । यहाँको मुख्यबाली मकै र गहुँ हो । पछिल्लो समय गाउँपालिकाले फलफूल खेतीमा जोड दिएको छ ।