महिलालाई दुव्र्यवहार गरेको आरोपमा धामी र पूजारी पक्राउ

रामेछाप खबर संवाददाता

७ पुस, काठमाडौं ।

महिलालाई दुव्र्यवहार गरेको आरोपमा सुर्खेतमा प्रहरीले धामी र पूजारीलाई पक्राउ गरेको छ । महिलालाई दुव्र्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नं ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ वर्षीय मिलन ज्ञवाली रहेका छन् । लेकबेँसी नगरपालिका–४ दशरथपुरमा कुलपूजा गर्न आएकी महिलालाई दुव्र्यवहार गरेको आरोपमा तीनै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिनुभयो ।

“पक्राउ परेकामाथि अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेका छौँ, पीडित पक्षले अहिलेसम्म उजुरी दिएको छैन”, उहाँले भन्नुभयो । ती महिला यही पुस ४ गते आफ्नो कुलदेवताको पूजाका लागि माइती आएकी थिइन् । घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मुद्दा फैसलामा ढिलाइ हुँदा काठ सड्दै

न्यायिक निकायले समयमै मुद्दाको फैसला नगर्दा बहुमूल्य काठ सड्न थालेको छ । जिल्लाका विभिन्न वनमा चोरी कटानका क्रममा वनका कर्मचारीले बरामद गरेको काठ दैनिक सड्न थालेको छ ।

मुद्दा समयमै फैसला नहुँदा लिलामी प्रक्रियामा लैजान नसकिएको जिल्ला वन कार्यालयका कार्यालयका रेञ्जर सन्तोषकुमार यादवले जानकारी दिनुभयो । चोेरी कटान भएका काठ बरामद गरिएपछि त्यसको प्रारम्भिक न्यायिक सुनवाइ जिल्लास्थित डिभिजन वन कार्यालय र जिल्ला अदालतमा हुने व्यवस्था छ । बरामद गरिएका दुई लाख बिगोभित्रका काठ चोरी मुद्दाको सुनुवाइ डिभिजन वन कार्यालयकै इजलास तथा त्यसभन्दा बढीको सुनवाइ जिल्ला अदालतले गर्ने कानुनी व्यवस्था छ ।

बरामद गरिएको चार हजार क्यूफिट काठ डिभिजन वन कार्यालयमातहतको सशस्त्र वन सुरक्षा शाखा, माईस्थानको कार्यालय परिसरमा थन्किएको छ । चार वर्षयता बरामद गरिएको काठ सड्ने र धोद्रिने क्रममा छ । डिभिजन वन कार्यालयमा २०४८ सालयता १९८ वन मुद्दा (काठ चोरी निकासी) परेका डिभिजन प्रमुख विनोदकुमार सिंहले बताउनुभयो । यी मुद्दा रु दुई लाख बिगोभित्रका हुन् । यसबाहेक २०० भन्दा बढी मुद्दा अदालतमा विचाराधीन अवस्थामा छन् ।

यस्तै पूर्वपश्चिम रेलमार्ग र विद्युत् प्रसारण लाइन निर्माणका लागि कटान गरिएको काठ पनि जिल्लाका विभिन्न ठाउँमा राखिएको छ । कटान भएको काठको लिलामीका लागि वन मन्त्रालयसम्मको स्वीकृति लिनुपर्ने प्रावधान छ । यस क्रममा कुकाठ भने बिक्री गरिएको सिंहले बताउनुभयो । हाल सड्न थालेको काठ करोडौँ रुपैयाँको रहेको वन कार्यालयले जनाएको छ ।