कांग्रेस महाधिवेशन अपडेट :१२६ पदको नतिजा सार्वजनिक, मतगणना आजै सकिने

रामेछाप खबर संवाददाता

७ पुस, काठमाडौं ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको नेतृत्व चयनको मतगणना अन्तिम चरणमा पुगेको छ। तीन क्लस्टरबाहेक सबैको नतिजा सार्वजनिक भइसकेको छ।
खस आर्य, दलित र आदिवासी जनजातिबाहेक सबै क्लस्टरको नतिजा सार्वजनिक भएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए। उनका अनुसार १२६ पदको नतिजा सार्वजनिक भइसकेको छ। अन्य तीन क्लस्टरको पनि आजै नतिजा सार्वजनिक हुनेछ। बाँकी रहेको मतगणना आज बिहान १० बजेदेखि सुरु गरिने रावलले बताए।

कांग्रेसमा १३ पदाधिकारीसहित १३४ पदमा निर्वाचन भएको थियो। ‍पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका नेताहरुको केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी उपस्थिति देखिएको छ।

मतगणनाअनुसार देउवाइतर समूहको कमजोर उपस्थितिले देउवालाई पार्टीभित्र थप शक्तिशाली देखिएका छन्। पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा भने देउवा निकट नेताको पक्षमा परिणाम देखिएका छ। महाधिवेशनको उद्‍घाटन गत मंसिर २४ गते भएको थियो। यसको तीन दिनपछि मंसिर २७ गते नयाँ नेतृत्वका लागि निर्वाचन भएको थियो ।

गण्डकीका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांगेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार मुख्यमन्त्री पोखरेलले दुई हजार ३०६ मत ल्याई विजयी हुनुभएको हो ।

गण्डकी प्रदेशको खुलातर्फको दुई पदमा मुख्यमन्त्री पोखरेलसँगै तनहुँका धु्रव वाग्ले निर्वाचित हुनुभएको छ । वाग्लेले दुई हजार ७२० मत प्राप्त गर्नुभयो । यस्तै शोभियतबहादुर अधिकारीले दुई हजार ३४ र रेशमबहादुर बानियाले एक हजार ९३८ मत प्राप्त गर्नुभएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस्तै केन्द्रीय सदस्य महिलातर्फ सरस्वती अर्याल तिवारी निर्वाचित हुनुभएको छ ।

यसअघि कांग्रेसको सहमहामन्त्रीमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पराजित हुनुभएको थियो । उहाँलाई बद्री पाण्डेले पिछडिएको क्षेत्रअन्तर्गत सहमहामन्त्री पदमा पराजित गर्नुभएको थियो । निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले अहिलेको महाधिवेशनको म्यान्डेट नै युवापुस्तालाई अगाडि बढाउने रहेकाले युवापुस्ता र पुराना पुस्ताबीचको अन्तरसंवाद कायम गरी अनुभव र सिकाइलाई हस्तान्तरण र पुस्तान्तरण गर्न लागिपर्ने बताउनुभयो । उहाँले पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिलाउन र हिमाल, पहाड तथा तराईका समग्र कार्यकर्तामा रक्तसञ्चार गर्न लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । मुख्यमन्त्री पोखरेल यसअघि पार्टीको १२औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।