वैदेशिक रोजगारका नाममा ठगी गर्ने म्यानपावर कम्पनीलाई कडा कारबाही गरिन्छ : मन्त्री श्रेष्ठ

रामेछाप खबर संवाददाता

५ पुस, काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिने बताएका छन् । उनले वैदेशिक रोजगारीका नाममा हुने ठगी र बिचौलियालाई निरुत्साहित हुने गरी काम गर्न लागिएको बताएका हुन् ।

आज दमौलीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने गरेका ठगी धन्दाको अन्त्य गरिने बताए । बिचौलियालाई कानुनी कठघरामा उभ्याइने उनको भनाइ थियो । वैदेशिक रोजगारका नाममा ठगी गर्ने कतिपय म्यानपावर कम्पनीलाई कारबाही गर्न थालिएको मन्त्री श्रेष्ठले बताए । श्रम स्वीकृति लिने व्यवस्था सातवटै प्रदेशबाट गरिएको र सातवटै प्रदेशमा सामाजिक सुरक्षा कोष स्थापना गरिएको जानकारी पनि उनले दिए ।

श्रम सम्झौता गरेर मात्रै अधिकांश देशमा रोजगारीमा पठाउन जोड दिइएको मन्त्री श्रेष्ठले बताए । आगामी दिनमा सबै देशमा सम्झौता गरेर मात्रै नेपालबाट कामदार पठाइने उनको भनाइ थियो ।

एमसीसीबारे सत्तारूढ ५ दलको साझा धारणा बन्छ : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने बताएका छन्।

तनहुँमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले एमसीसी परियोजनमा मतभेद सिर्जना गरी गठबन्धन भत्काउने एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रयास सफल नहुने बताए। सत्तारुढ गठबन्धनमा एमसीसीबारे साझा धारणा बनाउन कार्यदल गठन भएको चर्चा गर्दै मन्त्री श्रेष्ठले छिट्टै साझा धारणा सार्वजनिक गरिने बताए। एमसीसीका अन्तरवस्तुका बारेमा पार्टीभित्र पनि छलफल भइरहेको उनले बताए।

फरक प्रसङ्‍गमा मन्त्री श्रेष्ठले श्रम क्षेत्रमा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन आफू केन्द्रित रहेको बताए। देशभित्र रोजगारीको अवसर वृद्धि गर्ने, स्वरोजगारीका लागि प्रोत्साहित गर्ने तथा सम्मानजनक वैदेशिक रोजगारीका लागि विभिन्न सुधारका काम अघि बढाइएको उनले बताए। वैदेशिक रोजगारीका नाममा हुने ठगी र छलीका घटना अन्त्य गर्न कार्यदल बनाएको बताउँदै उनले वैदेशिक रोजगार नीति तथा कार्ययोजना पुनरवलोकन गर्न लागिएको बताए।

रोजगारीको लागि तुलनात्मक लाभ भएका रोजगार गन्तव्य मुलुकहरूको खोजी गर्ने र उक्त मुलुकमा नेपाली श्रमिकको हक हित संरक्षण र सम्वर्द्धनको लागि पहल गर्नेसमेत उनले बताए।