खुला महिला केन्द्रीय सदस्यमा डिला संग्रौलाको अग्रता कायमै, आरजु थप पछि परिन

रामेछाप खबर संवाददाता

५ पुस, काठमाडौं ।

नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यमा डिला संग्रौलाले १९०६ मतसहित अग्रता बढाएकी छन् । यसअघि २५६५ मत गन्दा दोस्रोभन्दा ७२ मत र तेस्रोभन्दा १५२ मतले अगाडि डिला ३०५० मत गन्दा दोस्रोसँग ९९ मत र तेस्रो उम्मेदवारसँग २१८ मतको अग्रता बनाएकी छन् ।

दोस्रोमा रहेकी पुष्पा भुसालले १८०७ मत पाएकी छन् । उनी अघिल्लो परिणामको तुलनामा अहिले डिलाभन्दा थप २७ मतले पछाडि परेकी छन् । यसअघि ७२ मतले पछाडि पुष्पा अहिले ९९ मतले पछाडि परेकी हुन् ।

तेस्रोमा १६८८ मत पाएकी आरजु त यसअघिको डिलासँगको अन्तरभन्दा थप ६६ मतले पछाडि परेकी छन् । यसअघि डिलासँग १५२ मतले पछाडि आरजु अहिले २१८ मतले पछाडि परेकी हुन् ।

निर्वाचन समितिकाअनुसार चौथोबाट नवौंसम्म क्रमश: अम्बिका बस्नेतले १५२९, ईश्वरी न्यौपाने १४९४, सरिता प्रसाईं १३७१, रमा कोइराला १२३६, सुशीला ढकाल ११९५, रंगमती शाहीले ११८८ मत ल्याएका छन् । खुलातर्फ ९ जना महिला केन्द्रीय सदस्यको प्रतिस्पर्धामा ३० जना छन् । मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जनाएको छ ।

विद्यार्थीलाई लोकतन्त्र र निर्वाचनका कुरा सिकाइँदै

रुकुम (पूर्व)मा विद्यार्थीलाई लोकतन्त्र र निर्वाचनका कुरा सिकाउन थालिएको छ । जिल्लास्थित विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई लोकतन्त्र र निर्र्वाचनका विषय सिकाउन थालिएको हो । जिल्ला निर्वाचन कार्यालयले विद्यालयस्तरमा निर्वाचन शिक्षा कार्यक्रममार्फत विद्यार्थीलाई लोकतन्त्र र निर्वाचन प्रक्रियाबारे जानकारी गराउँदै हिडेको छ ।

जिल्लास्थित विभिन्न विद्यालयमा गएर कक्षा ९ र १० का विद्यार्थीलाई लोकतन्त्र र निर्वाचन प्रक्रियासँगै यसमा विद्यार्थीको भूमीका के हुन सक्छ भन्ने कुराको जानकारी गराउने उद्देश्यले विद्यालयस्तरमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो । प्रत्येक वर्ष यो कार्यक्रम सञ्चालन भइरहेको हुन्छ । प्रत्येक वर्ष फरकफरक विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

“गएको वर्षमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरेको विद्यालयमा यस वर्ष कार्यक्रम गर्दैनौँ”, निर्वाचन अधिकारी ओलीले भन्नुभयो, “यस वर्ष कार्यक्रम सञ्चालनको लागि नयाँ छ वटा विद्यालय छनोटमा परेका छन् ।” जसमा हालसम्म तीन विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिसकेको उहाँको भनाइ छ । निर्वाच्न अधिकारी ओलीका अनुसार अहिलेसम्म भूमे गाउँपालिका–६ मा रहेको जनजागृती मावि महत, पुथाउत्तरगङ्गा गाउँपालिकाको महेन्द्र मावि तकसेरा र भूमे गाउँपालिकाको जनशक्ति मावि काडाँमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।

यस्तै पुथाउत्तरगङ्गा गाउँपालिकाको जनसहयोग मावि राबाङचौर, सिस्ने गाउँपालिकाको मावि नायगाड र मावि लम्पाकोटमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्न बाँकी रहेको छ । यी बाँकी रहेका विद्यालयमा पनि छिटै नै कार्यक्रम सञ्चालन गरिने निर्वाचन अधिकारी ओलीको भनाइ छ ।