बंगलादेशी कामदार लैजाने मलेसियाको तीब्र तयारी

रामेछाप खबर संवाददाता

५ पुस, काठमाडौं ।

गत डिसेम्बर १० मा मलेसियामा बंगलादेशी कामदार भर्ना गर्नका लागि बंगलादेशको प्रवासी कल्याण तथा वैदेशिक रोजगार मन्त्रालय र मलेसिया सरकारबीच सम्झौता गर्ने सहमति पछि अहिले बंगलादेशबाट मलेसियामा कामगार लैजाने तयारी तिब्र भएको छ ।

मलेसियाले विदेशी कामदारका लागि वृक्षारोपण, कृषि, उत्पादन, सेवा, खानी तथा उत्खनन्, निर्माण र घरेलु कामदारहरूका लागि भर्ना खुला हुने बताएको छ । मलेसियाको रोजगारीमा लामो समयदेखि संलग्न वैदेशिक रोजगार व्यवसायी कुमुद खनालले पछिल्ला दिनमा मलेसिया बंगलादेशबाट कामदार लैजाने योजनामा लागेको समाचार मलेसियाका सञ्चारमाध्यमबाट आइरहेको बताए ।

बंगलादेशले मलेसियाको स्वास्थ्य मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्सँग मिलेर विदेशी कामदारको प्रवेशका लागि स्थायी प्रक्रिया परिमार्जन गर्न काम गरी कामदार पठाउने बताइएको छ । मलेसियाको फ्रि मलेसिया टुडे अनलाइनले बंगलादेशसँग गर्न लागिएको कामदार ल्याउने सम्झौताको मस्यौदा आफुले प्राप्त गरेको भन्दै बंगलादेशबाट कामदार ल्याउँदाको सबै खर्च शुरूमा मलेसियाका रोजगारदाताले व्यहोर्ने तर कामदारको मासिक तलबबाट खर्च काट्ने उल्लेख रहेको समाचार छापेको छ ।

समाचारले बंगलादेशबाट कामदार मलेसिया पुगेपछि रोजगारदाताले मासिक तलबको ५० प्रतिशतभन्दा बढी नहुने गरी तलबमा कटौती गर्न पाउने उल्लेख गरेकोे छ ।
आजको अर्थ