दलालले अनेक प्रलोभन र मिठा सपना देखाएर परदेशमा पुर्‍याइएका नेपाली चेलीको अवस्था दर्दनाक !

रामेछाप खबर संवाददाता

५ पुस, काठमाडौं ।

राम्रो लगाउने, मिठो खाने, सुविधाको घरमा चैनले रात बिताउने मिठा सपना बुन्दै परदेसिएका नेपाली महिला÷युवतीका पीडाप्रति सिंगो समाज जाग्नै पर्ने देखिएको छ। स्वदेशमै रोजगारी नपाएर तथा सुरक्षित भविष्य नदेखेर सात समुद्रपारि पुगेका महिलाहरू नेपालीबाटै ठगिने, बेचिने, शोषित हुने र सित्तैमा जीवन बर्बाद गर्न बाध्य भइरहेका छन्। छोराछोरी, घरपरिवारको जीवन उज्ज्वल बनाउने उद्देश्यले विदेशीका महिलाहरू आफ्नै जीवन जोखिममा परेपछि उद्धारका लागि हारगुहार गर्दैछन्। र, पनि सरकार र सरोकारवालाहरूले पहलकदमी नलिँदा विपत्मा परेका नेपाली चेलीहरूले झन् कष्ट व्यहोरिरहेका छन्।

कुनै समय थियो, छोरी मान्छे घरको चार दिवार नाघ्नु हुँदैन। तर, आधुनिक शिक्षा, सूचना÷प्रविधिको विकाससँगै समाज पनि चेतनशील हुँदै गएपछि नेपाली चेलीहरू श्रम गर्न सात समुद्रपारि पुग्न थालेका छन्। कतिपयले विदेशी भूमिमा पनि राम्रै स्थान बनाएर आफू र आफ्नो परिवारको भविष्य सुरक्षित र सम्पन्न बनाइसकेका छन्। तर, थोरै पढेका, घरेलु, खेती तथा श्रम गर्न बाहिरिने नेपाली चेलीका दुःख र पीडा भने दर्दनाक छन्। पछिल्ला दिनमा भिजिट भिसामा युनाइटेड अरब इमिरेटस्मा पुर्‍याएका चेलीहरू अलपत्र परेका छन्। नेपाली दलालले अनेक प्रलोभन र मिठा सपना बुन्न लगाएर त्यहाँ पुर्‍याइएका चेलीले दुई चार पैसा कमाइ गर्न त परै जाओस्, उल्टै आफ्नै उद्धारका लागि रोइकराइ गर्नु परिरहेको छ।

अफिसमा बसेर काम गर्ने हो, महिनाको यति उति कमाइ हुन्छ, त्यसपछि त जीवन नै यस्तो बन्छ भनेर नेपाली चेलीलाई प्रलोभनमा पारेर दलालले यूएई लग्ने गरेका छन्। भिजिट भिसाको अर्थ र प्रयोग पनि थाहै नपाई त्यहाँ पुग्ने चेलीलाई स्थानीय एजेन्सीले साहुसँग बेच्ने र मोटो रकम कमाउने गरेका छन्। त्यसमा नेपाली दलालको पनि भूमिका हुन्छ। नयाँ रूपको ‘बेचबिखन’ले चेलीहरूको जीवन भने नर्कमा पुगेजस्तै हुन्छ। कमाइ त परै जाओस्, घर परिवारसँग सम्पर्क पनि गर्न पाउँदैनन्। अहिले यूएईमा यस्ता दुःख पाएका चेलीहरू सेल्टरमा दिन काट्दै स्वदेश फर्किने आसमा छन्।

मध्यपूर्वका खाडी मुलुक र मलेसिया नै नेपालीहरूको मुख्य वैदेशिक रोजगारीका देश बनेका छन्। खाडी मुलुकमा पनि यूएई अलि बढी आकर्षक मानिन्छ। तर, पछिल्ला दिनमा मानव तस्करले यूएईलाई ट्रान्जिट बनाएर सिधासाधा नेपालीलाई झुक्याउने र अलपत्र पार्ने गरेका छन्। भिजिट भिसाको महत्त्व, उद्देश्यबारे ज्ञान नै नभएका चेलीहरू लैजाने र अलपत्र पार्ने क्रम बढेको छ। भिजिट भिसामा कामदार लैजान नेपाली दलालहरूले अध्यागमनसँग पनि सेटिङ मिलाउने गरेका छन्। नत्र, यूएईजस्ता देशमा के कस्तो आर्थिक हैसियत भएका नेपाली घुम्न जान्छन् ?

त्यहाँ घुम्न जानुको उद्देश्य के हो ? जस्ता पक्षको ख्यालै नगरी अध्यागमनले नेपाली चेलीलाई त्यहाँ जाने अनुमति दिनुको अर्थ के हो ? दैनिक सयौंको संख्यामा भिजिट भिसामार्फत नेपालीहरू यूएई पुगे पनि सरकार भने अनदेखा गरिरहेको छ। त्यहाँ पुग्नेका पीडा र दुःखका चित्कारले भन्दा दलालमार्फत कमाइ हुने दुई–चार पैसाको लोभमा सरोकारवालाहरूले रमाइलो मानिरहेका छन्।

देशभित्रै रोजगारी र राम्रो तलब सुविधा दिन नसकेका बेला वैदेशिक रोजगारमा आफ्ना नागरिक पठाउनु सरकारको बाध्यता हो। विदेशमा पसिना चुहाएर पठाएको रेमिट्यान्सले देशलाई फाइदै पुगेको छ। तर, वैदेशिक रोजगारीलाई मर्यादित बनाउने, विदेशमा आफ्ना कुनै पनि नागरिकले दुःख नपाऊन भन्नका लागि नीति नियम बनाउने, बदमासी गर्ने दलाललाई कारबाही गर्ने र विदेशमा रहेका आफ्ना नागरिकका दुःख पीडामा साथ दिने दायित्व र जिम्मेवारी सरकारको हो। विदेशमा लगेर आफ्ना चेलीहरूलाई अलपत्र पार्ने, बेच्ने र उनीहरूको जीवन बर्बाद बनाउनेलाई सरकारले कारबाही गर्नैपर्छ। देश सबैको हो, सरकारले सबै नागरिकको सुरक्षा र जिम्मेवारी लिन्छ भन्ने कुरालाई सरकारले व्यवहारमै पुष्टि गर्नुपर्छ। अन्‍नपूर्णपोष्ट