ताजा अपडेट : केन्द्रीय सदस्यमा शशाङ्क कोइरालाको अग्रता कायमै, कसको कति मत?

रामेछाप खबर संवाददाता

३ पुस, काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला)तर्फको मतगणना जारी रहेको छ। पार्टी कार्यालय सानेपामा १ हजार ५८९ मतगणना भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन्। जारी मतगणनामा १ हजार ३१३ मतसहित डा शशाङ्क कोइराला सबैभन्दा अगाडि रहेका छन्। यस्तै, एनपी साउदले १ हजार २२ र बालकृष्ण खाँडले ९७५ मत ल्याएर उनलाई पछ्याइ रहेका छन्।

यता, रमेश लेखकले ९६९, ज्ञानेन्द्रबहादुर कार्कीले ९५५, शंकर भण्डारीले ९५२, उदयशम्शेर राणाले ९४८ र रामहरी खतिवडाले ९४४ मत ल्याएका छन्। अर्जुननरसिंह केसीले ९३६, जिपछिरिङ लामाले ८८० र गोपालमान श्रेष्ठले ८७९ मत पाएका छन्।

सबै पदाधिकारीको मतगणना शुक्रबार सम्पन्न भएको थियो। महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए। कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि ४ हजार ७४३ रहेका छन्।