भारतमा हरेक २५ मिनेटमा एक गृहिणीले आत्महत्या गर्छन् !

रामेछाप खबर संवाददाता

२ पुस, काठमाडौं ।

बीबीसी । भारतमा वर्षेनी हजारौँ गृहिणीले आत्महत्या गर्ने गरेका छन् । भारत सरकारको नेसनल क्राइम रेकड्र्स ब्यूरो (एनसीआरबी) ले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष २२ हजार तीन सय ७२ जना गृहिणीले आफ्नो जीवन आफै समाप्त गरेका छन् । यसको अर्थ प्रत्येक दिन औसतमा ६१ वा २५ मिनेटमा एक जना गृहिणीले आत्महत्या गर्छन् ।

सन् २०२० मा भारतमा दर्ता भएको कुल एक लाख ५३ हजार ५२ आत्महत्या गर्नेमध्ये १४.६ प्रतिशत गृहिणी थिए र आत्महत्या गर्ने कुल महिलाको ५० प्रतिशत भन्दा बढी थिए ।

र गएको वर्ष अपवाद थिएन । सन् १९९७ मा एनसीआरबीले पेशागत रूपमा तथ्याङ्क राख्न सुरु गरेयता प्रत्येक वर्ष २० हजार भन्दा बढी गृहिणीले आत्महत्या गर्ने गरेका छन् । सन् २००९ मा यो संख्या २५ हजार ९२ पुगेको थियो ।

रिपोर्टहरूमा सधैँ त्यस्ता आत्महत्यामा ‘पारिवारिक समस्या’ वा ‘विवाहसँग सम्बन्धित विषय’लाई दोष दिइन्छ । तर, साँच्चिकै के कुराले हजारौँ महिलालाई आत्महत्या गर्न प्रेणित गर्छ ?

मानसिक स्वास्थ्य विशेषज्ञहरू यसको प्रमुख कारण घरेलु हिंसा रहेको बताउँछन् । हालै गरिएको सरकारी सर्वेक्षण अनुसार सबै महिलामध्ये ३० प्रतिशतले पति–पत्नी हिंसाको सामना गरेका थिए । दैनिक दिक्कलाग्दो कामले वैवाहिक जीवनलाई दमनकारी र वैवाहिक घरलाई उकुसमुकुस बनाउन सक्छ ।

“महिलाहरू साँच्चिकै लचिलो हुन्छन्, तर सहिष्णुताको पनि सीमा हुन्छ”, उत्तरी सहर वराणसीकी क्लिनिकल मनोवैज्ञानिक डा. उषा वर्मा श्रीवास्तव भन्छिन् ।

“धेरै केटीहरू १८ वर्ष हुनासाथ विवाहित हुन्छन्, जुन विवाहको लागि कानुनी उमेर हो । उनी पत्नी र बुहारी बन्छिन् र उनको पूरा दिन घरमा खाना पकाउन, सरसफाइ र घरायसी काममा बिताउँछिन् । उनीमाथि सबै प्रकारका प्रतिबन्ध लगाइन्छ, उनीसँग व्यक्तिगत स्वतन्त्रता थोरै हुन्छ र उनको आफ्नै पैसामा विरलै पहुँच छ ।

“उनको शिक्षा र सपनाले अब अर्थ राख्दैनन् र उनको महत्वकांक्षा बिस्तारै निभ्न थाल्छ, निराशा र असन्तुष्टिले जरा गाड्छ र अस्तित्व केवल यातना बन्छ ।”

डा. वर्मा श्रीवास्तव धेरै उमेरका महिलाहरूको आत्महत्याको कारण फरक भएको बताउँछिन् ।

“धेरैले आफ्ना बालबच्चा हुर्केर घर छोडेपछि ‘इम्टि नेस्ट सिन्ड्रोम’ (सन्तानले छोडेपछि हुने भावनात्मक पीडा) को सामना गर्छन् र धेरै ‘पेरिमेनिपोजल सिप्म्टम’ (महिनावारी गढबढीसम्बन्धी लक्षण)बाट ग्रसित हुन्छन् जसले डिप्रेसन र ‘क्राइङ स्पेल्स’ (बिनाकारण रुने) गराउँछ ।”

तर आत्महत्या सजिल रोक्न सकिने डा. श्रीवास्तव बताउँछिन् । “यदि तपाईले कसैलाई एक सेकेण्ड रोक्नुभयो भने उनीहरू रोकिने सम्भावना हुन्छ ।”

त्यो किनभने, मनोचिकित्सक सौमित्र पठारे भन्छन्, भारतमा हुने धेरै आत्महत्या आवेगपूर्ण हुन्छन् । “पति घर आएर पत्नीलाई कुटपिट गर्छन्, र पत्नीले आत्महत्या गर्छिन् ।”

आत्महत्या गर्ने भारतीय महिलामध्ये एक तिहाइ घरेलु हिंसाबाट पीडित भएको स्वतन्त्र अनुसन्धानले देखाएको उनले बताए । तर एनसीआरबीको तथ्याङ्कमा घरेलु हिंसालाई कारणको रूपमा उल्लेख गरिएको छैन ।

बेङ्लोरस्थित स्वास्थय एप वाइसाकी मनोवैज्ञानिक चैतली सिन्हा भन्छिन्, “सक्रिय घरेलु हिंसाको अवस्थामा रहने धेरै महिलाहरूले अनौपचारिक सहयोग पाएको कारणले मात्र आफ्नो मानसिक सन्तुलन (विवेक) कायम राख्छन् ।”

मुम्बइको सरकारी मनोचिकित्सक अस्पतालमा तीन वर्ष काम गरेकी सिन्हाले आत्महत्याको प्रयासबाट बाँचेकाहरूलाई परामर्श दिन्छिन् । उनले स्थानीय ट्रेनहरूमा यात्रा गर्दा वा तरकारीहरू किन्दा छिमेकीहरूसँग महिलाहरूले सानो समर्थन समूह बनाएको पाएको बताइन् ।

“उनीहरूसँग आफूलाई अभिव्यक्त गर्ने अरु कुनै बाटो थिएन र कहिलेकाही उनीहरूको मानसिक स्वास्थ्य केवल एक व्यक्तिसँग गर्न सकिने कुराकानीमा निर्भर गर्छ”, उनले भनिन् महामारी र लकडाउनले उनीहरूको स्थिति झनै खराब ग¥यो ।

“पुरुषहरू काममा निस्किएपछि गृहिणीहरूसँग सुरक्षित ठाउँ थियो, तर त्यो महामारीको समयमा गायब भयो । घरेलु हिंसाको अवस्थामा, यसको अर्थ यो पनि हो कि उनीहरू आफ्ना दुव्र्यवहारकर्तासँग फस्छन् । यसले उनीहरूको गतिविधि र काम गर्ने क्षमतालाई थप प्रतिबन्धित गर्‍यो । त्यसैले रिस, पीडा र उदासी बढ्दै जान्छ र आत्महत्या उनीहरूको अन्तिम उपाय बन्छ ।”

भारत विश्वव्यापी रूपमा सबैभन्दा धेरै आत्महत्या गर्ने देशमा पर्छ । विश्वव्यापी आत्महत्याको एक चौथाई भारतीय पुरुषहरूले ओगटेका छन् जबकि भारतीय महिलाहरूको १५ देखि ३९ वर्षको उमेर समूहमा सबै विश्वव्यापी आत्महत्याको ३६ प्रतिशत हिस्सा छ ।

तर मानिसक असन्तुलन र आत्महत्या रोकथामको बारेमा अनुसन्धान गरेका पठारेले भन्छन्, भारतको आधिकारिक संख्या धेरै कम आँकलन गरिएको छ र यसले समस्याको वास्तविक मात्रा बताउन सक्दैन ।

“यदि तपाईले मिलियन डेथ स्टडी (जसले सन् १९९८ देखि २०१४ बीचमा २४ लाख परिवारका एक करोड ४० लाख मानिसहरूलाई निगरानी गरेको थियो) वा ल्यान्सेट अध्ययनलाई हेर्नुभयो भने भारतमा आत्महत्या ३० प्रतिशत र १०० प्रतिशत बीचमा कम रिपोर्ट गरिएको छ ।”

उनी भन्छन्, “अहिले पनि विनम्र संगतमा आत्महत्याको बारेमा खुलेर कुरा गरिएको छैन । यसमा लाज र कलंक जोडिएको छ र धेरै परिवारले यसलाई लुकाउन खोज्छन् । ग्रामीण भारतमा पोस्टमार्टमको लागि कुनै आवश्यकता छैन र धनी मानिसहरू स्थानीय प्रहरीमा भर पर्छन् । प्रहरीले आकस्मिक मृत्युको रूपमा देखाउँछ । प्रहरीका दर्ताहरू प्रमाणित छैनन् ।”

भारतले आत्महत्या रोकथामको राष्ट्रिय रणनीति बनाइरहेका बेला तथ्याङ्कको गुणस्तरलाई प्राथमिकतामा राख्नुपर्ने डा. पठारेले बताए ।

“यदि तपाईले भारतमा आत्महत्याको प्रयास गर्नेहरूको संख्या हेर्नुभयो भने तिनीहरू हास्यास्पद रूपमा कम छन् । संसारको कुनै पनि ठाउँमा, तिनीहरू सामान्यतया वास्तविक आत्महत्याको चार देखि २० गुणा (संख्या) छन् । त्यसैले, यदि भारतले गत वर्ष एक लाख ५० हजार आत्महत्या भएको रेकर्ड राखेको थियो, भने आत्महत्याको प्रयास छ लाखदेखि ६० लाखको बीचमा भएको हुन सक्छ ।”

डा. पठारे भन्छन्, यो पहिलो जोखिममा पर्ने जनसंख्या हो जसलाई कुनै पनि आत्महत्या रोकथाम हस्तक्षेपको लागि लक्षित गरिनुपर्छ । तर हामी कमजोर तथ्याङ्कमा अलमलिएका छौँ ।

“संयुक्त राष्ट्रसंघको लक्ष्य सन् २०३० सम्म विश्वव्यापी रूपमा एक तिहाइले आत्महत्या घटाउने लक्ष्य राखिएको छ, तर अघिल्लो वर्षको तुलनामा हाम्रोमा १० प्रतिशतले वृद्धि भएको छ । र यसलाई घटाउने सपना नै रहन्छ ।” बीबीसीबाट