अन्तत : घट्ने भयो पेट्रोलियम पदार्थको मूल्य, आज नयाँ मूल्यसूची सार्वजानिक हुने

रामेछाप खबर संवाददाता

२ पुस, काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । भारतले पेट्रोलियम पदार्थको मूल्यसूची पठाउँदा पहिलेको तुलनामा मूल्य कम खरीद मूल्य पठाएपछि नेपालले पनि सोहि अनुसार मूल्य समायोजन गर्न लागेको हो ।

भारतीय आयल निगमले नेपाललाई हरेक अंग्रेजी महिनाको १ तारिख र १५ तारिखमा नयाँ मूल्यसूची पठाउने गर्दछ । भारतीय आयल निगमले १५ डिसेम्बर अर्थात् मङ्सिर २९ गते नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल निगमले घटाएर नयाँ मूल्यसूची पठाएपछि नेपालमा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको हो ।

निगमले भोलि शुक्रबार नयाँ मूल्यसूची सार्वजनिक गर्ने तयारी गरेको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि भारतले पनि घटेको मूल्य सूची पठाएको हो । भारतीय आयल निगमले यस अघि डिसेम्बर १ मा पनि मूल्य घटाएर पठाएपनि नेपाल आयल निगमले भने आफ्नो उच्च घाटालाई देखाउदै मूल्य घटाएको थिएँन ।

अष्ट्रेलियासँग बेलायतको स्वतन्त्र व्यापार सम्झौता

बेलायतले अष्ट्रेलियासँग स्वतन्त्र व्यापार सम्झौता गरेको छ। बीबीसीका अनुसार बिहीबार यो सम्झौतामा हस्ताक्षर भएको हो। बेलायतले यो सम्झौताले उपभोक्ता र व्यवसायी दुवैलाई फाइदा पुग्ने बताएको छ।

युरोपेली संघ(ईयू)बाट बाहिरिएपछि बेलायतले अष्ट्रेलियासँग उक्त सम्झौता गरेको हो। यो सम्झौताअनुसार अष्ट्रेलिया र बेलायतको व्यापारिक सम्बन्ध बेलायत ईयूमा रहँदाको अवस्थाजस्तै हुनेछ।

यो सम्झौताले दुई मुलुकबीच वार्षिक १० अर्ब ४० करोड पाउण्ड बराबरको व्यापार बढ्ने अनुमान छ। यद्यपि अष्ट्रेलियाबाट आउने सस्तो सामग्रीको कारण बेलायतका किसान भने समस्यामा पर्न सक्ने आलोचकहरूले बताएका छन्।

बिहीबार एच भर्चुअल सम्मेलनका बीच यो सम्झौतामा हस्ताक्षर भएको हो। यो सम्झौता आगामी वर्षदेखि कार्यान्वयनमा आउनेछ। अष्ट्रेलियाले पनि यो सम्झौता हुनु निकै महत्वपूर्ण भएको बताउँदै यसले दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ।