ओलीले देउवालाई फोनबाटै दिए बधाई, दुईजनाबीच रमाइलो कुराकानी

रामेछाप खबर संवाददाता

१ पुस , काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापतिमा दोस्रो पटक निर्वाचित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्। ओलीले बुधबार साँझ टेलिफोन गरेर देउवालाई दोस्रो कार्यकाल सफलताको शुभकामना दिएका हुन्। यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी अध्यक्ष माधवकुमार नेपालले पिन फोनबाटै देउवालाई बधाई दिएका छन्।

टेलिफोन वार्ताका क्रममा दुई नेताबीच लोकतन्त्र र अहिलेको व्यवस्थामाथि अनेक प्रश्न उठिरहेको अवस्थामा कांग्रेस र एमालेबीच राम्रो सम्बन्ध कायम हुनुपर्ने विषयमा कुरा भएको बताइएको छ। देउवाले ओलीलाई धन्यवाद दिँदै एकआपसमा सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए

ओलीले संविधान निर्माणका लागि समेत कांग्रेस र एमाले मिलेको बताउँदै अब पनि त्यही अनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले कांग्रेससँग सहकार्य गर्न आफूलाई कुनै समस्या नहुने बताएका थिए।

त्यसक्रममा दुई नेता गम्भीर संवादसँगै रमाइलो कुरा पनि भएको बताइएको छ। आफूलाई अन्य नेताले बधाई दिइसक्दा पनि ओलीले फोन नगरेको भन्दै आफैंले फोन गरेर बधाई माग्न लागेको सुनाएका थिए।

त्यसपछि ओलीले आफू प्रतिपक्षी भएकाले कांग्रेस र सत्ता साझेदारले बधाई दिइसकेपछि अन्तिममा दिन फोन गरेको भन्दै ठट्टासमेत गरेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन्।