काँग्रेस उपसभापतिमा धनराजसँग गच्छदार २ मतले हारे

रामेछाप खबर संवाददाता

१ पुस , काठमाडौं ।

नेपाली काँग्रेसका नेता धनराज गुरुङले गएराति सम्पन्न मतगणनाको मत परिणाममा २ मतको झिनो मतान्तरले उपसभापतिमा विजय हासिल गरे । उनले राजनीतिका खेलाडी विजय गच्छदारलाई पछि पार्दै आफ्नो जित सुनिश्चित गरेका हुन् । मतगणनामा केही गोलमाल भएपछि उनले १०० मत पुनः गन्न लगाएका थिए भने सो क्रममा उनको पक्षमा बढी मत रहेको पुष्टि भएको थियो । उनी मतगणनामा स्वयम् उपस्थित भएका थिए । त्यही दुई मतले उनले विजयी हासिल गरेर भाग्यमानी साबित भए ।

मतगणनासकिएपछि धनराजको यसबारे भनाइः मतपत्रको १०० को मुठा गन्दाखेरी म पछाडिबाट हेरिरहेको थिएँ । रेजा लगाउने अफिसियलले चाहिँ मेरो रेजा लगाउने ठाउँमा प्रष्टै रूपमा चारवटा ठाडो धर्कापछि पाँचौँमा क्रस गर्नुपर्छ । तर उहाँले पाँचवटा पुगेपछि बल्ल छैटौँमा क्रस गर्नुभयो । मेरै आँखाले त्यो देखियो । फेरि उहाँले एउटा धर्का तान्नुपर्नेमा मैले हेर्दा हेर्दै नतानेको देखेँ । त्यसमा गडबड देखिएपछि मैले अन्तिममा भनेँ–यो त केही भइरहेको छ ? तपाईले त गडबड गर्नुभयो त हेर्नुस् त राम्रोसँग भनेर फेरि गन्दा उहाँले गल्ती गरेको पुष्टि भयो । ५ र ठाडो धर्नापछि जुन क्रस गरिएको थियो । यो चाहिँ मैले गल्ती गरेको रहेछु भन्नुभयो । अनि अर्को पनि गल्ती भएको छ तपाईँले धर्का तान्नु भएको छैन भन्दा त्यसपछि १०० को टोटलमा गडबड देखिएपछि ल एक पटक फेरि हेरौँ भन्ने कुरा भयो । त्यसपछि पहिला १०० मा ४१ मत भन्नु भएको थियो मेरो, तर ४३ मत भयो । त्यो नियोजित नभनौँ त्यो मानवीय इरर पनि हुनसक्छ ।

राति केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनाबाट विजयी हुनेमा धनराज शेखर कोइराला प्यानलका हुन् भने अर्का विजयी पूर्णबहादुर खड्का भएका छन् । उनी शेरबहादुर देउवा प्यानलका हुन् । उपसभापतिको प्रतिस्पर्धामा गच्छदार र गुरुङबीच रोचक प्रतिस्पर्धा भएको थियो । मतगणनाको बीच बीचमा गच्छदारले अग्रता पनि लिएका थिए । अन्तिम परिणाममा भने उनी २ मतले पराजित हुन पुगे ।

चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाह भने पराजित भए । उपसभापति पदमा ७ जना प्रतिस्पर्धामा रहेपनि काँग्रेस विधानअनुसार २ जना विजयी भएका हुन् ।