दुखद खबर : मलेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु

रामेछाप खबर संवाददाता

२९ मंसिर, काठमाडौं ।

एजेन्सी । मलेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । घटनामा परेका अरु २७ जना अझै पनि बेपत्ता रहेको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मृत्यु भएका र बेपत्ता भएका मध्ये अधिकांश इन्डोनेसियाका रहेका छन् । मलेसियाको दक्षिणी क्षेत्रमा दुर्घटना भएको हो ।

अचानक खराव मौसमका कारण दुर्घटना भएको जनाइएको छ । हराइरहेकाहरुको खोजीका लागि उद्धारकर्ताहरु परिचालन गरिएको छ । सामुद्रिक मार्ग अवैध रुपमा पार गरिरहेका बेला दुर्घटना भएको जनाइएको छ । यस क्षेत्रमा यस्ता दुर्घटना बेला बेलामा हुने गरेका छन् । मलेसियाको जोहोर राज्यमा भएको दुर्घटनामा परेको डुङ्गामा ६० यात्रु रहेका थिए ।

घटनामा परी मृत्यु भएका मध्ये सात जना पुरुष र चार जना महिला रहेका छन् । उद्धारकर्ताहरुले अरु २० पुरुष र दुई महिलालाई भने जिवितै उद्धार गरेका छन । बेपत्ता भएकाहरु जिवितै भेटिने संभावना कम रहेको खोजी तथा उद्धार कार्यमा संलग्नहरुले बताएका छन् ।

इण्डोनेसियामा ७.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी !

पूर्वी इण्डोनेसियामा ७.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । युएस जियोलोजिकल सर्भेका अनुसार भूकम्प फ्लोर्स सागरमा १८.५ किलोमिटर गहिराइमा मौमेरे सहरबाट करिब १०० किलोमिटर उत्तरमा केन्द्रविन्दु भएर गएको थियो । भूकम्प स्थानीय समयअनुसार बिहान १० बजेर २० मिनेटको समयमा (नेपाली समय ९ बजेर ५ मिनेट) गएको थियो ।

सीएनएनका अनुसार प्यासिफिक सुनामी वार्निङ सेन्टरले भनेको छ ‘भूकम्प केन्द्रको १ हजार किलोमिटरको दायरामा समुद्र तट नजिकै खतरनाक लहरहरु उठ्ने आशंका छ ।’ युएसजीएसले मानिसहरु हताहत भएको आशंका कम भएको बताएको छ तर यो भूकम्पले सुनामी र पहिरोको जोखिम बढाएको छ ।

यसअघि २००४ मा इण्डोनेसियामा सबैभन्दा खतरनाक भूकम्प गएको थियो । सुमात्रानजिकै ९.१ म्याग्नेच्युडको भूकम्पले सुनामी पनि ल्याएको थियो । यसमा इण्डोनेसियाका करिब डेढ लाख मानिसहरु मारिएका थिए । २०१८ मा पनि यहाँ शक्तिशाली भूकम्प गएको थियो । यसमा होलिडे द्विप र सुंबावा द्विपमा ५५० भन्दा धेरै मारिएका थिए ।