कुन चाहिँ शेयर काराेबारीले चन्दा दिएन हाेला, प्रचण्डले ध्वस्त पारिदिन खाेजे : ओली

रामेछाप खबर संवाददाता

२९ मंसिर, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सेयर बजारका बारेमा दिएको अभिव्यक्तिको तीब्र आलोचना गरेका छन् । ‘कुन सेयर कारोबारीले चन्दा दिएन होला अनि त्यसको रीसमा उनले ठोकिदिए,’ ओलीले भनेका छन् । एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई बुधबार सपथ दिलाएपछि सम्बोधन गर्दै ओलीले प्रचण्ड लेनिनभन्दा बढी जान्ने भएर नयाँ थेसिस प्रतिपादन गरेको भनेर आरोप लगाएका छन् ।

‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए। प्रचण्डले त्योभन्दा बढ्दा जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिए,’ ओलीले भने, । साम्राज्यवादको विकासित रुप सेयर बजार हो रे । लेनिन भन्दा पनि बढी जान्ने भएछन् प्रचण्ड । पुँजीबाद विकसित भएर साम्राज्यवाद हुन्छ भनेर लेनिनले भनेका थिए । त्यसभन्दा पनि माथि गएर प्रचण्डले साम्राज्यवाद विकासित भएर पुँजीवाद हुन्छ भनेछन् ।

यसरी प्रचण्डले नयाँ थेसिस निकाले । त्यसपछि २ दिनमा सेयर बजार धराशायी भयो, उनले भने । अर्थतन्त्र केही पनि मतलब छैन । कुन सेयर कारोबारीले चन्दा दिएन होला । नरहे बास, नबजे बाँसुरी, ओलीले भने ।जनताको जीवनमा कति असर हुन्छ, तिनीहरुको आर्थिक अवस्था कस्तो हुन्छ ? केही पनि मतलब छैन ।

यदि हामीले त्यस्तो गर्दथ्यौं भने माइतीघरले पुग्दैनथ्यो । सडक तात्दथ्यो । सञ्चारमाध्यमा आगो बल्दथ्यो । तर अहिले आराम छ । कोही बल्दैन । यस्तो अस्थिरता क्रेट गर्ने हो । यता बिगार्ने, उता भत्काई दिने । यो खालको श्रृंखला चलिरहेको छ । यहाँ धेरै बोलिरहनुपर्ने अवस्था छैन ।

यसअघि शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजीको लगानी पुँजीमै हुनु साम्राज्यवादको विकसित रूप भएको बताएका थिए । प्रचण्डको यस भनाईको सर्वत्र विरोध भइरहेको छ ।