प्रचण्ड र माकुने एन्ड कम्पनी अस्थिरताका संवाहक हुन्: ओली

रामेछाप खबर संवाददाता

२९ मंसिर, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई अस्थिरताका संवाहक शक्ति भएको बताएका छन्। केन्द्रीय कमिटीको बैठकबाट मनोनित केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराउने क्रममा उनले प्रचण्ड र नेपालले अस्थिरता मच्चाउन खोजेको आरोपसमेत लगाए। ‘हाम्रो अघि अहिले चुनौती छ,’ मनोनित केन्द्रीय सदस्यलाई निर्देशन दिँदै उनले भने, ‘राष्ट्र दुई धुव्रमा विभाजित हुँदै गएको छ, अस्थिरताका संवाहक तत्त्व यिनै हुन् भ्रम राख्नु पर्दैन।’

स्थायित्व र स्थिरतातर्फ केन्द्रितरहन निर्देशन दिँदै उनले भने, ‘अझै कतिपय साथीहरुमा भ्रम होला कम्युनिष्ट एकता भनेर त्यस्ता अस्थिरहरुसित एकीकरण गरेर कही पुगिँदैन। यिनको सम्बन्ध कहाँ छ तार कहाँ जोडिएको छ छर्लङ्ग देखिएको छ।’

जनयुद्ध सफल हुनुमा प्रचण्डको कुनै योगदान नरहेको उनले बताए। प्रचण्डले लगाम आफ्नो हातमा राख्ने विधिमात्र अपनाएको उनको भनाइ छ। ‘त्रसित, अशान्त र आफ्नो दुनो सोझ्याउने नीतिअनुसार काम भएको हो,’ उनले भने। अन्य देशका तालिम केन्द्रमा तालिम दिने गरिएको उनको आरोप छ।

माओवादी केन्द्रको कर्णाली अध्यक्ष प्रदेश सदस्यबाट मात्र चुनिने

नेकपा (माओवादी केन्द्र)को ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले प्रदेश प्रदेश सदस्यहरूबाट नै प्रदेश अध्यक्ष चुन्ने मापदण्ड बनाएको छ । यही मङ्सिर २५ गतेदेखि सुरु भएको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले केन्द्रीय सदस्यबाट अध्यक्ष चयन हुने अवस्थाले पूर्णता नपाएपछि प्रदेश समिति सदस्यबाट अध्यक्षसहितका पदाधिकारी तोक्ने विधि तय गरेको हो । उक्त सम्मेलनको बन्दसत्रमा अध्यक्षमण्डलका अध्यक्ष रामदीप आचार्यले प्रदेश अध्यक्ष हुन प्रदेश सदस्यबाट छान्ने र केन्द्रीय सदस्य पदेन रहने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

निर्वाचित प्रदेश समिति २११ सदस्यीय हुनेछ । आचार्यले भन्नुभयो, “प्रदेश समितिमा देखिएको असन्तुलनलाई सन्तुलित गर्ने ध्येयले १० प्रतिशत मनोनित गर्ने व्यवस्था गरिएको छ ।” उहाँले दशवटै जिल्लाबाट छानिएका प्रदेश समिति सदस्यको प्यानल प्रस्ताव बन्दसत्रमा मङ्गलबार सार्वजनिक गर्नुभयो ।

अध्यक्ष आचार्यका अनुसार रुकुम पश्चिमबाट ३२, सल्यानबाट २९, कालिकोटबाट २९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्लाबाट १८, हुम्लाबाट १८, दैलेखबाट १७, डोल्पाबाट ११ र मुगुबाट १० प्रदेश सदस्यमा चयन भएका छन् । छानिएका प्रदेश सदस्यबाट अध्यक्षसहितका पदाधिकारी छानिने छन् । माओवादी केन्द्रले प्रदेश समितिमा महिला ३५, दलित २५, युवा २० र अल्पसङ्ख्यक पाँच प्रतिशत समेट्ने गरी विधान निर्माण गरेको छ ।