प्रकाशमानले देउवालाई समर्थन गरेपछि, कांग्रेसका कार्यकर्ताले भने, ‘बाबु गणेशमान सिंहको इज्जत छोराले माटोमा मिसाए’

रामेछाप खबर संवाददाता

२८ मंसिर, काठमाडौं ।

विधान संशोधनदेखि कार्यशैली सुधारकाे प्रतिबद्धतापछि शेरबहादुर देउवालाई आफूले समर्थन गरेकाे नेता प्रकाशमान सिंहले जानकारी दिएका छन् ।नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका लागि हुने दाेस्राे चरणकाे मतदानमा सभापतिका प्रत्यासी सिंहले देउवालाई समर्थन गर्ने भएका छन् । पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचनमा जाने क्रममा सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेका हुन् ।

सिंह निवास चाक्सीबारीमा मंगलबार बिहान पुगेका देउवाले विधान संशोधन गर्न, कमीकमजोरी सच्याउन, कार्यशैली सुधार गर्ने प्रतिबद्धता जनाएपछि आफ्नो प्यानललाई उनलाई समर्थन गर्ने निर्णय गरेको सिंहले जानकारी दिए ।

‘हामीबीचको छलफलमा उहाँ (देउवा)ले विधान संशोधन गर्न, कमीकमजोरीप्रति सल्लाह गरेर सुधार्न, कार्यशैली सुधार्ने वचन दिनुभएको छ,’ सिंहले भने, ‘उहाँको सो प्रतिबद्धतापछि म, सुजाता कोइरालासहितले उहाँलाई समर्थन गर्ने निर्णय गरेका छौँ ।’ सिंहको समर्थनसँगै देउवा सभापतिमा निर्वाचित हुने सम्भावनालाई बलियो बनाएको छ ।

पहिलो चरणमा देउवाले २२५८, शेखर कोइलालो १७०२, प्रकाशमान सिंहको ३७१, विमलेन्द्र निधिको २५० र कल्याण गुरुङले २२ मत ल्याएका थिए । पहिलो चरणको निर्वाचनमा कुल मत ४६७९ मत खसेको थियो भने ७६ बदर भएको थियो ।

तर शेखर कोइराला समर्थकले भने सिंह र सुजाताको चर्को आलोचना गरेका छन् । गणेशमानका छोरा भएर पनि बाबुको सबै सपना सकिदिएको र उनको इज्जत सकिदिएको आरोप लगाएका छन् ।

देउवालाई सहयोग गर्ने प्रकाशमानको निर्णयमा विश्वप्रकाश शर्माको समर्थन

नेपाली कांग्रेसको सभापतिको दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई सहयोग गर्ने निर्णयप्रति विश्वप्रकाश शर्माले समर्थन जनाएका छन् ।

मंगलबार बिहान चाक्सीबारीमा भएको भेटवार्तामा सभापतिको निर्वाचनमा सिंहले देउवालाई समर्थन गर्ने सहमति भएको हो । शर्मा सिंहको प्यानलबाट महामन्त्रीका उम्मेदवार हुन् ।

‘सर्वसम्मति सर्वोत्तम ! दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु- नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ । पराजित भए पनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो । सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु,’ शर्माले ट्विटमार्फत भनेका छन् ।

निधिलाई भेट्न देउवा पुगे निवास, मागे सहयोग

प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेता विमलेन्द्र निधिलाई भेट्न उनको निवास पुगेका छन् । केही समयअघि मात्रै दुवै नेताबीच भेट भएको हो ।

कांग्रेस सभापतिको निर्वाचनमा कसैको पनि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदानको तयारी भइरहेको छ । दोस्रो चरणको मतदानमा आफूलाई सहयोग माग्न देउवा निधि भेट्न उनको निवास पुगेका हुन् ।

कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको अन्तिम मत परिणामअनुसार देउवाले २२५८, शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए ।

यसअघि नै देउवा सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंह निवास चाक्सीबारी पुगेर उनको समर्थन हासिल गरेका छन् ।