पार्टीमा एक्लौटी ढंगले निर्णयहरु गर्दिन, यस पटक सहयोग गर्नुहोस : देउवा

रामेछाप खबर संवाददाता

२८ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको १४ औँ अधिवेशनअन्तर्गत सभापतितर्फको पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले जित हासिल गर्न सकेनन् । कुनै उम्मेदवारले निर्वाचनमा जित हासिल नगरेपछि मंगलबार साढे ३ बजेका पुनः मतदान तय गरिएको छ ।

पहिलो चरणमा सभापतिका लागि प्रतिस्पर्धी पाँच जनाले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः मतदान गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । र, गठबन्धन गरेर एकले अर्कालाई सहयोग गर्नुपर्ने अवस्थामा आइलागेको थियो ।

यससँगै वर्तमान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार बिहानैदेखि आफ्नो पक्षमा पार्नका लागि विपक्षी उम्मेदवारहरुसँगको लबिङमा दौडधूपमा थिए।

र, उनी आफूविरुद्ध उभिएर सभापतिमा उम्मेदवार बनेका विमलेन्द्र, निधि, प्रकाशमान सिंह र कल्याण गुरुङसँग भेटे । सभापतिका दाबेदारी भए पनि पछि हटेका रामचन्द्र पौडेलसँग चियापान कार्यक्रमस्थलमै पुगे देउवा र आफूलाई जिताउन आग्रह गरे । सबैबाट सकारात्मक जित सुनिश्चितको समाचार बोकेर हिँडेका देउवाले त्यस अवधिमा ‘ओली कार्ड’ को बहुत् प्रयोग गरे ।

देउवाले आफू सभापतिमा पराजित भए देउवा सरकारको आगमन हुने र ओली राज चलेर देश दुर्गतिमा पुग्ने भनेर भेटमा सबैलाई भने । साथै, संविधानअनुसार ओली पुनः सरकारमा आगमन हुनेतर्फ इंगित गर्दै देउवाले ओलीको आगमनले पार्टीलाई त्यस्तो गतितर्फ डोर्याउनुभन्दा आफूलाई जिताउनु महान भने ।

सभापतिमा जितेपछि पार्टीलाई विधान अनुसार नै चलाउने, पहिलेजसरी काम नगर्ने पनि देउवाले सबैलाई बचन व्यक्त गरेका छन् भने पार्टीमा एक्लौटी ढंगले निर्णयहरु नगर्ने पनि भनेर बाचा गरेका छन् ।

पहिलो चरणको निर्वाचनमा सिंहले ३७१, निधीले २४९ मत र कल्याण गुरुङले २० मत ल्याएका छन् । अबको दोस्रो चरणको निर्वाचनमा उनीहरुकै निर्णायक मतले देउवा सभापतिमा जित्ने निश्चित छ । र, देउवा जितमा ढुक्क भइ बसकेका छन्।