एमसिसी विरोधको बन्दले शिक्षण संस्था चल्न सकेनन्, यातायात सुचारू

रामेछाप खबर संवाददाता

मंसिर २८ चितवन ।

अमेरिकी सहयोग परियोजना एमसिसीको विरोध गर्दै आह्वान गरिएको चितवन बन्दको असर चितवनका सहरी क्षेत्रमा परेको छ। एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै मंगलबा चितवन बन्दको आह्वान गरेको हो।

बन्दका कारण शिक्षण संस्था संचालनमा आउन सकेका छैनन्। पसलहरू आंशिक खुलेका छन्। बन्दकर्ता सडकमा नरहेका कारण सवारी साधन भने चलेका छन्।

बन्द गर्दै हिँडेका देशभक्त गणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदस्य घननाथ सापकोटालाई प्रहरीले बिहानै पक्राउ गरेको छ। पुल्चोकबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। १३ वटा राजनीतिक दलको समर्थनमा बन्द आह्वान गरिएको संघर्ष समितिले बताएको छ। मंगलबारको संसदको बैठकमा एमसिसीको विषयमा पनि निर्णय हुनसक्ने भन्दै त्यसको विरोधमा बन्द घोषणा गरिएको समितिले जनाएको छ। एमसिसीको विरोधमा संघर्ष समितिले यसअघि चितवनमा हस्ताक्षर अभियान र मसाल जुलुसलगायतका कार्यक्रम गरेको थियो।

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान हुने, देउवा र कोइरालाबीच प्रतिस्पर्धा

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २५८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गरेका छन् भने सभापतिका प्रत्यासी प्रकाशमान सिंहले ३६०, विमलेन्द्र निधिले २३९ र कल्याण गुरूङले २० मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले अब पुनः दोस्रो चरणको मतदान हुने भएको छ ।

पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।