बहुमत नपाएपछि देउवाले खाँणलाई किन पठाए प्रकाशनमान निवास ?

रामेछाप खबर संवाददाता

२८ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापतिको चुनाव दोस्रो चरणमा जाने सम्भावना बढेसँगै शेरबहादुर देउवाले तयारी थालिसकेका छन् । दोस्रो चरणमा मतदान हुने पक्का थाहा पाइसकेपछि देउवाले आफ्नो दूतहरूलाई शीर्ष नेताहरू कहाँ पठाउन सुरु गरेका हुन् । दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना बढेपछि देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रकाशनमान सिंहनिवास चाक्सीबारीमा पठाएका छन् ।

यो महाधिवेशनमा सिंह पनि उम्मेदवार थिए । तर, उनी पराजित भइसकेका छन् । कांग्रेस दोस्रो चरणको निर्वाचन पनि आजै हुनेछ ।

सभापतिमा देउवाले पाएनन् बहुमत, दोस्रो चरणको निर्वाचन हुने

नेपाली कांग्रेसको सभापतिमा दोस्रो चरणको निर्वाचन हुने भएको छ। कूल खसेको ४ हजार ६७९ मतमा शेरबहादुर देउवाले बहुमत ल्याउन सकेनन् । पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ। अब देउवा र डा. शेखर कोइरालाबीच सभापति पदका लागि निर्वाचन हुनेछ। राष्ट्रिय सभागृहमा मतगणना भएको थियो।

नेपाली कांग्रेसका कूल ४ हजार ७४३ मतदाता रहेका थिए। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पाँच जनाले उम्मेदवारी दिएका छन्। त्यसमध्ये देउवा र र कोइरालाले प्यानल बनाएरै चुनावमा उत्रिएका छन्।