कांग्रेस सभापतिका उम्मेदवार पाँचै जनाले जितेनन्, फेरि निर्वाचन हुने

रामेछाप खबर संवाददाता

२८ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा कोही पनि निर्वाचित भएनन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ । तर, सभापतिको उम्मेदवार पाँचै जनाले बहुमत ल्याउन सकेनन् ।

चार हजार ६८१ मत गणना हुँदा शेरबहादुर देउवाले २२५८, सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरूङले २० मत प्राप्त गरेका छन् ।

अब शेदरबहादुर देउवा र शेखर कोइलाबीच पुनः निर्वाचन हुने पक्का भएको छ । पार्टीको निर्वाचन समितिका अनुसार आजै मदतान हुने छ ।

गगन थापाको अपिल : भावी पुस्ताले भरोसा गर्ने गतिशील कांग्रेस बनाउन भोट हाल्नुस्

नेपाली कांग्रेसका युवा नेता गगन थापाले भावी पुस्ताले भरोसा गर्ने गतिशील कांग्रेस बनाउन विवेकपूर्ण निर्णय गर्न अपिल गरेका छन् ।

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको एक घन्टापछि नेता थापाले ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ बनाउने संकल्प पूरा गर्न पार्टी पुनर्जागरण र रुपान्तरणको अभियानमा साथ, सहयोग र विवेकपूर्ण निर्णय गर्न अपिल गरेका हुन् ।

‘नेपाली कांग्रेसलाई कस्तो बनाउने र कस्तो नेतृत्व छनोट गर्ने भन्ने दूरगामी महत्वको क्षणमा हामी छौं । हाम्रो पार्टीको गौरवशाली विगतबाट प्रेरणा लिँदै भावी पुस्ताले भरोसा गर्ने आधुनिक एवं गतिशील कांग्रेस बनाउन हामीले यो महाधिवेशनबाट नयाँ यात्रा थाल्नुछ ।

यसका लागि पार्टीको विचार, कार्यक्रम र नेतृत्वमा नयाँपन चाहिएको छ। ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ बनाउने हाम्रो संकल्प पूरा गर्न पार्टी पुनर्जागरण र रुपान्तरणको अभियानमा हामीलाई साथ सहयोग र विवेकपूर्ण निर्णय गर्न हार्दिक अपिल गर्दछु,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

थापा कांग्रेस महामन्त्रीको उम्मेदवार हुन् । उनी डा.शेखर कोइराला प्यानलमार्फत चुनावी मैदानमा छन् ।